ट्राफिक जरिवानाको विषयमा विवादमा तानिएपछि महावीर पुनको घोषणा, भने ‘एकवर्षसम्म अन्तर्वार्ता दिन्न’

हिमाल प्रेस २७ असार २०८३ ९:११ | Saturday, July 11, 2026
16
SHARES
ट्राफिक जरिवानाको विषयमा विवादमा तानिएपछि महावीर पुनको घोषणा, भने ‘एकवर्षसम्म अन्तर्वार्ता दिन्न’

काठमाडौँ- महँगो ट्राफिक नियम र जरिवाना बनाउँदा मात्र सवारी चालक मर्यादित बन्ने अभिव्यक्तिका कारण  विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन विवादमा तानिएका छन्। काठमाडौँमा महँगो ट्राफिक जरिवानाका कारण आत्मदाह प्रयास गरेका युवकको विषयसँग मिल्दोजुल्दो अभिव्यक्ति भएपछि पुन विवादमा तानिएका हुन्।

महानगरमा पठाओ चलाउने एक युवकले ट्राफिक जरिवाना बुझाउन नसकेको भन्दै आत्मदाह प्रयास गरेका थिए। उनको उपचारका क्रममा निधन भएको छ। घटनाभन्दा पहिले नै पुनले जरिवाना चर्को हुनुपर्ने बताएका थिए। पुनले विवादमा तानिएसँगै आगामी एक वर्षसम्म सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूलाई कुनै पनि अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।

पुनले फेसबुकमा लेख्दै घोषणा गरेका छन्, ‘आजदेखि मैले कुनै पनि ठूला साना युट्युबरसहित सोसल मिडिया र पत्रकार कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक बर्षसम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन, छैन, छैन।’

ट्राफिक जरिवाना विवादबारे स्पष्टीकरण दिँदै उनले भनेका छन्, ‘केही दिनअघि सामाजिक सञ्जालका पत्रकारहरूलाई अन्तर्वार्ता दिने क्रममा गुड्ने सवारी साधन र ट्राफिक नियम उल्लंघनको प्रसंगमा ५० हजार जरिवाना गर्नुपर्छ भनी आफूले बोलेको कुरा फिर्ता लिँदै माफी मागेको छु ।’

उनले लेखेका छन्, ‘त्यसो गर्दा कसैलाई अज्ञानवश चोट पुगेको छ भने माफ गर्नुहोला। ट्राफिक नियमलाई अटेर गर्नेहरुले मुटुमा हात राखेर सोच्नु होला।’ उनले जरिवानाको विषयमा थप स्पष्ट पार्दै अन्तर्वार्ताकारहरूले आफूलाई सो विषयमा जानकारी नहुँदा नहुँदै पनि ‘कोट्याई कोट्याई’ सोधेको र ५० हजारको प्रसंग पत्रकारहरूले नै निकालेको दाबी गरेका छन्।

 

प्रकाशित: २७ असार २०८३ ९:११ | Saturday, July 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast