गणेश नेपालीको निधनपछि वीर अस्पतालमा कडा सुरक्षा

हिमाल प्रेस २६ असार २०८३ १२:४८ | Friday, July 10, 2026
10
SHARES
गणेश नेपालीको निधनपछि वीर अस्पतालमा कडा सुरक्षा

काठमाडौँ- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएपछि वीर अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

गम्भीर जलनबाट घाइते भएका नेपालीको वीर अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको थियो। उनको शुक्रबार बिहान निधन भएको हो।

नेपालीको मृत्युको खबर सार्वजनिक भएपछि उनका आफन्त तथा समर्थक अस्पताल पुगेका छन्। शव नबुझ्ने र आन्दोलन गर्ने चेतावनी दिएपछि सम्भावित अप्रिय अवस्था रोक्न अस्पताल परिसरमा नेपाल प्रहरीको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

मृतकका आफन्तले सरकारले उनीमाथि अन्याय गरेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको माग गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

एक आफन्तले भने,‘हामी शव बुझ्दैनौं, सडक जाम गर्छौं, आन्दोलनलाई अगाडि बढाउँछौं।’

अर्का आफन्त चन्द्रबहादुर शाहीका अनुसार गणेश नेपाली ३-४ वर्षअघि काठमाडौँ आएका थिए। उनले किस्तामा मोटरसाइकल खरिद गरी राइड सेयरिङ सेवामार्फत जीविकोपार्जन गर्दै आएका थिए।

आफन्तका अनुसार बिहीबार निषेधित क्षेत्रमा मोटरसाइकल रोकेको भन्दै काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उनलाई १० हजार रुपैयाँ जरिवानाको चिट काटेको थियो। सोही घटनापछि मानसिक तनावमा परेर उनले राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएको आफन्तको दाबी छ।

आफन्तले घटनाका लागि नगर प्रहरीलाई नै जिम्मेवार ठहर गर्दै निष्पक्ष अनुसन्धान र जिम्मेवारमाथि कानुनी कारबाहीको माग गरेका छन्।

अस्पताल परिसरमा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित: २६ असार २०८३ १२:४८ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast