काठमाडौँ- सरकारका विरूद्ध काठमाडौँमा प्रदर्शन भएको छ। जनपक्षीय ट्रेड युनियन महासंघले सरकारविरूद्ध माइतीघरमा प्रदर्शन गरेको हो।
गणेश नेपालीलाई आत्मदाह गर्नुपर्ने अवस्था राज्यले निर्माण गरेको आरोप लगाउँदै महासंघले विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरूले ‘युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो?’ भन्ने नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागीहरूले युवालाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। गणेश नेपालीको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने उनीहरूको भनाइ छ।
राइड सेयरिङ काममा आवद्ध गणेशले बिहीबार राहदानी विभागअगाडि आत्मदाह गरेका उनको थियो।
मोटरसाइकल पार्किङको विषयलाई लिएर काठमाडौँ महानगरका प्रहरीसँग विवाद भएपछि उनले आफ्नो शरीरमा आगो लगाएका थिए। गणेशको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको थियो।
यो घटनापछि सरकारको चर्को आलोचना भइरहेको छ।



