राहदानी विभागअघि आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

हिमाल प्रेस २६ असार २०८३ १२:३२ | Friday, July 10, 2026
14
SHARES
राहदानी विभागअघि आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौँ- काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअघि बिहीबार आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।

वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११ : १९ बजे निधन भएको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

गम्भीर रूपमा घाइते भएका नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको थियो। तर स्वास्थ्य अवस्था अत्यन्त जटिल र अस्थिर भएकाले चिकित्सकले तत्काल स्थानान्तरण नगर्न सुझाव दिएपछि योजना स्थगित गरिएको थियो।

अस्पतालले पत्रकार सम्मेलन गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो। अस्पतालका चिकित्सकहरूले उनको अवस्थाबारे निश्चित रूपमा केही भन्न नसकिने र जुनसुकै बेला पनि अवस्था बिग्रन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए।

उनको अनुहार, टाउको, घाँटी र छातीमा गम्भीर जलन भएको थियो भने शरीरका भित्री अंगहरूमा समेत असर पुगेको चिकित्सकहरूले बताएका थिए।

नेपालीको शरीरको ५५ प्रतिशत भाग जलेको थियो। आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्‍याएकाे थियो। उनलाई वीर अस्पतालको ‘बर्न आईसीयू’ वार्डमा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो।

अस्पतालले प्लास्टिक सर्जरी विभागका संयोजक डा.पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय टोली परिचालन गरेको थियो।

भक्तपुरमा डेरा गरी पत्नी र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे। आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए।

प्रकाशित: २६ असार २०८३ १२:३२ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast