गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी, गृहमन्त्री अस्पतालमा

हिमाल प्रेस २६ असार २०८३ ६:४४ | Friday, July 10, 2026
12
SHARES
गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी, गृहमन्त्री अस्पतालमा गृहमन्त्री सुधन गुरुङ वीर अस्पतालमा।

काठमाडौँ- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी गरिएको छ।

सरकारले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट व्यहोर्ने निर्णय गर्दै भारत स्थानान्तरणका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाएको हो।

यसका लागि एयर एम्बुलेन्सको व्यवस्था गरिनुका साथै दिल्ली विमानस्थलदेखि एम्स अस्पतालसम्मको समन्वयसमेत मिलाइएको छ।

गृहमन्त्री सुधन गुरुङ उपचार व्यवस्थापनमा सक्रिय रहेका छन् भने नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई आवश्यक समन्वयका लागि परिचालन गरिएको छ।

गृहमन्त्री गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका सदस्यहरू वीर अस्पताल पुगेर चिकित्सकहरूसँग नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा उपचाररत नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। प्लास्टिक सर्जरी विभागका संयोजक डा.पियुष दाहालको नेतृत्वमा २१ सदस्यीय चिकित्सक टोलीले उनको उपचार गरिरहेको छ।

चिकित्सकहरूका अनुसार नेपालीको स्वास्थ्य अवस्था निरन्तर निगरानीमा राखिएको छ। अवस्था अनुकूल भएपछि उनलाई एयर एम्बुलेन्समार्फत भारत लैजाने तयारी गरिएको छ।

प्रधानमन्त्री शाहको विशेष पहलमा उपचारका लागि भारत लैजाने सम्पूर्ण प्रक्रिया अघि बढाइएको जनाइएको छ।

प्रकाशित: २६ असार २०८३ ६:४४ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast