रास्वपा हङकङको कार्यक्रममा राजनीतिक सुधार र संगठन सुदृढीकरणको प्रतिबद्धता

हिमाल प्रेस २१ असार २०८३ १५:०६ | Sunday, July 5, 2026
12
SHARES
रास्वपा हङकङको कार्यक्रममा राजनीतिक सुधार र संगठन सुदृढीकरणको प्रतिबद्धता

हङकङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग हङकङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम जुलाई ४ मा सम्पन्न भएको छ।

कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेश सहमहामन्त्री स्वस्तिका लामिछानेले आयोजकप्रति आभार व्यक्त गर्दै रास्वपाले कठिन संघर्ष पार गरेर आजको अवस्था हासिल गरेको बताइन्।

उनले पार्टी सभापति रवि लामिछानेमाथि विगतमा भएको राजनीतिक प्रतिशोधविरुद्ध देश विदेशका नेपाली एकजुट भएको स्मरण गर्दै आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पनि सबै मिलेर पार्टीलाई थप बलियो बनाउनुपर्ने बताइन्।

हालै सम्पन्न महाधिवेशनमा समय अभावका कारण केही प्राविधिक कमजोरी भएको स्वीकार गर्दै उनले आगामी दिनमा त्यस्ता त्रुटिबाट सिकेर अघि बढ्नुपर्ने बताइन्।

पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने, जनविश्वास गुम्ने कुनै पनि काम नगर्ने तथा पार्टीभित्र देखिएका कमजोरीप्रति आवश्यक खबरदारी गर्न आफू पछि नहट्ने उनको भनाइ थियो।

भाषणका क्रममा उनले पार्टी स्थापनाकालदेखि नै व्यक्तिगत र पारिवारिक जिम्मेवारीभन्दा देशको राजनीतिक सुधारलाई प्राथमिकता दिएको अनुभव पनि सुनाइन्।

उनले आफ्नी आमालाई भनेको भनाइ उद्धृत गर्दै भनिन्,‘आमा, घरको काम त फुर्सदमा गरौँला, पहिला देशको राजनीतिक फोहोर सफा गर्छौँ।’ कार्यक्रममा सहभागीहरूले उनको उक्त अभिव्यक्तिलाई भावुक र प्रेरणादायी भन्दै स्वागत गरेका थिए।

लामिछानेले प्रवासमा रहेका नेपालीलाई आफ्नो स्थानबाट पार्टी र देशका लागि योगदान गर्न आग्रह गर्दै नेपालभित्र आफूहरू निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाइन्।

सबैको संयुक्त प्रयासबाट देशलाई समृद्ध बनाउन सकिने विश्वास व्यक्त गर्दै उनले एक दिन सबै नेपाली आफ्नै देशमा सुखपूर्वक बस्न सक्ने वातावरण निर्माण हुने आशा व्यक्त गरिन्।

कार्यक्रममा अर्का अतिथि रास्वपा प्रवास मकाउका सभापति उदित खत्रीले पनि सम्बोधन गर्दै हङकङ र मकाउमा हुने अनियमितताविरुद्ध सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।

उनले रास्वपा गठन हुनुभन्दा अघिदेखि नै पार्टी सभापतिप्रति आफ्नो समर्थन रहेको उल्लेख गर्दै पार्टीले पनि गल्ती गरे त्यसलाई चुपचाप स्वीकार नगर्ने बताए।

विदेशमा परिवार, विशेषगरी सानो तीन वर्षीय सन्तानबाट टाढा बस्नुपर्दाको पीडाबारे चर्चा गर्दै उनले प्रवासी नेपालीका समस्या पार्टीले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रमका सभापति तथा रास्वपा प्रवास सम्पर्क विभाग हङकङका सभापति झम गुरुङले सहभागी सबैलाई स्वागत गर्दै हङकङमा रहेका नेपाली समुदायका समस्या समाधानका लागि सबै संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

रास्वपा हङकङका उपाध्यक्ष अधिराज राईले शुभकामना मन्तव्य व्यक्त गर्दै सुशासन र परिणाममुखी काम नै नागरिकको अपेक्षा भएको उल्लेख गरे। उनले सरकारलाई आवश्यक सहयोग गर्दै कमजोरीमा खबरदारी गर्नुपर्ने धारणा राखे।

कार्यक्रमको सञ्चालन रास्वपा हङकङका सचिव शिवचन्द्र लिम्बूले गरेका थिए।

प्रकाशित: २१ असार २०८३ १५:०६ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast