वैशाख यता विपद्जन्य घटनामा १२७ जनाको मृत्यु

हिमाल प्रेस २० असार २०८३ ६:३० | Saturday, July 4, 2026
8
SHARES
वैशाख यता विपद्जन्य घटनामा १२७ जनाको मृत्यु

काठमाडौँ– यस वर्ष सुरु भएपछि (वैशाख १ देखि १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल दुई हजार ७२१ विपदजन्य घटनामा १२७ को मृत्यु भएको तथा ७७३ जना घाइते भएका छन् ।

ती विपदमा तीन हजार ७२२ परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ । सबैभन्दा बढी सर्पदङ्शका ३९८ घटनामा परेर २३ जनाको मृत्यु भएको छ भने ३७५ जना घाइते भएका छन् ।

यस्तै लेक लागेका ५४ घटनामा २१ जनाको मृत्यु र ३४ जना घाइते तथा चट्याङ्का २०५ घटनामा १९ जनाको मृत्यु र ९८ जना घाइते भएका छन् ।

यस्तै सबैभन्दा बढी घटना भने आगलागीका भएका छन् । आगलागीका ८३० घटनामा १७ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् ।

जनावरको आक्रमणका १४७ घटनामा १४को मृत्यु र ८२ जना घाइते भएका छन् । हावाहुरीका ४७४ घटना भएका र ती घटनामा परेर १३ जनाको मृत्यु तथा ६७ जना घाइते भएका पनि प्राधिकरणले जानकारी दिएको छ ।

यस्तै बाढी, पहिरो, भारी वर्षा, डुङ्गा पल्टिएर, वन डढेलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्रवक्ता महतका अनुुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न २७ जिल्लामा ३१ वटा विपदका घटना भएको र ती विपदमा परेर एक जनाको मृत्यु भएको तथा १५ जना घाइते भएका छन् ।

प्रकाशित: २० असार २०८३ ६:३० | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast