काठमाडौँ- क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा पहिलो पटक गोल गर्दै कीर्तिमान बनाएपछि गोन्सालो रामोसले इन्ज्युरी समयको चौथो मिनेटमा निर्णायक हेडर प्रहार गर्दा पोर्चुगलले क्रोएसियालाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
अतिरिक्त समयतर्फ खेल अघि बढ्ने संकेत देखिइरहेका बेला राफाएल लिआओको उत्कृष्ट क्रसमाथि रामोसले दुई डिफेन्डरमाथि उफ्रिएर गरेको हेडले पोर्चुगललाई रोमाञ्चक जित दिलायो।
त्यसपछि थपिएको १३औँ मिनेटमा जोस्को ग्भार्डिओलले गोल गर्दै खेल बराबरीमा ल्याएको जस्तो देखिए पनि भिडियो सहायक रेफ्री (भीआर) को समीक्षापछि गोल अफसाइड ठहरियो। रिप्लेमा इगोर मातानोभिचले क्रसमा हल्का स्पर्श गरेपछि बल मारियो पासालिचसम्म पुगेको र उनी अफसाइड अवस्थामा रहेको पुष्टि भएपछि ग्भार्डिओलको गोल अमान्य भएको थियो।
पहिलो हाफमा पोर्चुगलले खेल नियन्त्रणमा राखे पनि दोस्रो हाफमा क्रोएसिया बढी प्रभावशाली देखिएको थियो। ५३औँ मिनेटमा रुबेन डियासले पूर्ण रूपमा क्लियर गर्न नसकेको बललाई इभान पेरिसिचले शक्तिशाली प्रहार गर्दै क्रोएसियालाई अग्रता दिलाए।
दुई मिनेटपछि वैकल्पिक खेलाडी इगोर मातानोभिचले दोस्रो गोल गरे पनि निकोला भ्लासिच अफसाइडमा रहेकाले त्यो गोलले पनि मान्यता पाएन।
त्यसपछि खेल थप रोमाञ्चक बन्यो। राफाएल लिआओको घुमाउरो प्रहार क्रसबारमा लाग्यो भने रोनाल्डोले गरेको आकर्षक फिनिस पनि अफसाइडका कारण रद्द भयो।
६८औँ मिनेटमा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई बराबरीमा फर्काए। कर्नरको क्रममा रेनाटो भिएगामाथि फाउल भएको भीआरले देखाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो।
यो गोलसँगै रोनाल्डोले विश्वकपको नकआउट चरणमा पहिलो गोल गर्ने उपलब्धि हासिल गरे भने राष्ट्रिय टोलीका लागि आफ्नो गोल संख्या १४६ पुर्याए।
बराबरीपछि क्रोएसियाले लगातार दबाब सिर्जना गर्यो। मातेओ कोभाचिचका दुई उत्कृष्ट प्रहारलाई गोलकिपर डियोगो कोस्टाले बचाए भने मातानोभिच एक्लै गोलकिपरसामु पुगे पनि सफल हुन सकेनन्। पेटार सुचिचले गरेको अर्को गोल पनि अफसाइडका कारण रद्द भयो।
विश्वकपको नकआउट चरणमा सुरुवाती रोजाइमा उत्रिने सबैभन्दा बढी उमेरका खेलाडी बनेका ४१ वर्षीय रोनाल्डोलाई ८१औँ मिनेटमा मैदानबाट बाहिर निकाल्दा उनी असन्तुष्ट देखिएका थिए। तर खेलपछि रामोसको विजयी गोलसँगै उनी टोलीका खेलाडीसँग खुसीयाली मनाउँदै देखिए।
अब पोर्चुगलले अन्तिम १६ मा युरोपियन च्याम्पियन स्पेनसँग जुलाई ६ मा अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा प्रतिस्पर्धा गर्नेछ।
मोड्रिचको सम्भावित अन्तिम विश्वकप
यो खेललाई प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक मानिएको छ। पराजयसँगै ४० वर्षीय लुका मोड्रिचको विश्वकप यात्रा सम्भावित रूपमा समाप्त भएको छ। उनले उमेरलाई चुनौती दिँदै उत्कृष्ट मिडफिल्ड प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले गरेको रणनीतिक परिवर्तन निर्णायक सावित भयो। सुरुवातमा पोर्चुगलका आक्रमणहरू अत्यधिक रूपमा रोनाल्डोमा केन्द्रित देखिए पनि रामोस मैदान प्रवेश गरेपछि आक्रमण थप सन्तुलित र प्रभावकारी बनेको थियो।
खेलपछि पोर्चुगलका खेलाडीहरूले भावुक रूपमा जित मनाए। पूर्व पोर्चुगिज फरवार्ड डियोगो जोटाको निधन भएको एक वर्ष पूरा हुन लागेका बेला रोनाल्डोले आफ्ना दिवंगत पूर्वसहकर्मीको जर्सी लगाएर आँसुसहित समर्थकहरूलाई अभिवादन गरेका थिए।




