मनसुनजन्य विपद् प्रतिकार्यका लागि नेपाली सेनाले तयारी अवस्थामा राखेको हेलिकप्टर । तस्बिर नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालय ।
काठमाडौँ- मनसुनजन्य विपद्को प्रभावलाई मध्यनजर गर्दै नेपाली सेनाले उद्धार, राहत तथा प्रतिकार्यका लागि आवश्यक पूर्वतयारी पूरा गरेको जनाएको छ।
विगतका वर्षहरूमा सञ्चालन गरिएका उद्धार तथा राहत कार्यबाट प्राप्त अनुभवका आधारमा संघीय, प्रदेश र स्थानीय सरकार, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग समन्वय गर्दै यस वर्ष पनि मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयन भइरहेको सेनाले जनाएको हो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बुधबार हिमालप्रेससँग भने,‘विगतका अनुभव र सिकाइका आधारमा मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्यका लागि नेपाली सेनाले आवश्यक सम्पूर्ण पूर्वतयारी पूरा गरेको छ। आवश्यक परे जुनसुकै समयमा उद्धार, राहत तथा खोज कार्यका लागि सेना परिचालन हुन तयार छ।’
सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लास्थित गण तथा गुल्महरूमा आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। प्रदेशस्थित सबै पृतनाहरूमा आवश्यक उद्धार उपकरणसहित विशेष क्षमतायुक्त Composite Search and Rescue Team तैनाथ गरिएको छ।
दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन हवाई साधनको महत्त्वलाई ध्यानमा राख्दै नेपाली सेनाले हेलिकप्टर तथा अन्य हवाई साधन पनि तयारी अवस्थामा राखेको जनाएको छ।
काठमाडौँबाहेक सुर्खेत र इटहरीमा एक एक वटा हेलिकप्टर स्ट्याण्डबाई राखिएको छ भने मनसुन सुरु भएसँगै सातै प्रदेशमा परिचालन गर्न सकिने गरी अन्य हवाई साधन काठमाडौँमा तयारी अवस्थामा राखिने व्यवस्था मिलाइएको छ। मौसम पूर्वानुमानका आधारमा दुई वटा हवाई साधन उपयुक्त स्थानमा पूर्वतैनाथ गर्ने योजना समेत रहेको सेनाले जनाएको छ।
बाढीपहिरोका कारण राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न धादिङको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा एक एक सेट बेलीब्रिज तयारी अवस्थामा राखिएको छ। गाडीमार्फत तत्काल प्रभावित क्षेत्रमा पुर्याउन सकिने तीन वटा द्रुत यान्त्रिकृत पुल गौचरस्थित ब्यारेकमा स्ट्याण्डबाई राखिएको प्रवक्ता बस्नेतले जानकारी दिए।
विशेष उद्धार कार्यका लागि हवाई साधनमार्फत तत्काल परिचालन गर्न सकिने Composite Quick Reaction Team (CQRT) गौचर ब्यारेक, काठमाडौँमा तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ।
त्यसैगरी, मनसुनजन्य विपद्का समयमा घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन सैनिक अस्पतालहरूबाट Emergency Medical Response Team (EMRT) परिचालन गर्न सकिने गरी आवश्यक जनशक्ति, उपकरण तथा औषधीको व्यवस्था गरिएको छ। प्रत्येक पृतनामा औषधी, खाद्यान्न तथा अन्य राहत सामग्री समेत व्यवस्थापन गरिएको सेनाले जनाएको छ।
नेपाल सरकारबाट प्राप्त सामग्री तथा नेपाली सेनाको आन्तरिक स्रोत साधनलाई विपद् व्यवस्थापनमा अधिकतम उपयोग गरिने जनाइएको छ। आवश्यक परे सैनिक इन्जिनियरिङ विभागबाट हेभी इक्विप्मेन्ट तथा अपरेटरसहितका सवारी साधन पनि तत्काल परिचालन गर्न सकिने तयारी गरिएको छ।
यसैबीच, नेपाली सेनाको नेतृत्वमा सरकारका विभिन्न मन्त्रालय, सरकारी निकाय तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहभागितामा गत वैशाख २१ देखि २३ गतेसम्म जङ्गी अड्डामा केन्द्रीय तहको एकीकृत अभ्यास ‘अभ्यास हातेमालो–८’ सञ्चालन गरिएको थियो। उक्त अभ्यास क्रमशः प्रदेश तथा जिल्ला तहसम्म विस्तार गरिएको सेनाले जनाएको छ।
प्रवक्ता बस्नेतको भनाइमा विपद् प्रतिकार्यका लागि काठमाडौँस्थित विमानस्थलमा स्ट्याण्डबाई रहने Composite Quick Reaction Team ले हवाई उद्धार लगायतका अभ्याससमेत सम्पन्न गरिसकेको छ।
विपद्को प्रारम्भिक उद्धारमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने भएकाले सामुदायिक विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न स्थानीय सहभागितामा तालिमसमेत सञ्चालन गरिएको छ।
मनसुनजन्य विपद् व्यवस्थापनका लागि नेपाली सेनासँग कस्ता उपकरण छन्?




