इलाम- भारत आयात हुने चियामा भारतको टी बोर्डले नयाँ निर्णय गरेको छ । उक्त बोर्डले जुन २९ मा एक सूचना जारी गर्दै पहिला रोकिएको चियाको परीक्षण प्रणाली पुनः सुचारु गरेको जनाएको छ। सूचनामा २०२६ मे १ देखि भारत आयात हुने सबै चियाको शतप्रतिशत परीक्षण गर्ने निर्णय भएको उल्लेख छ।
फसाइलाई पुनः निर्यातका लागि भारत आयात भएको चियाको शतप्रतिशत परीक्षण गर्ने अधिकार दिइएको उल्लेख छ। भारतभित्र प्रयोग गर्न आयात हुने चियाको सुरुवाती चरणमा जोखिमका आधारमा २० प्रतिशत नमुनाको परीक्षण गरिने उल्लेख छ।
सूचनामा परीक्षणका लागि प्रत्येक आवेदकले दुई हजार रुपियाँ र जिएसटी तथा फसाइ र प्रयोगशालाले तोकेको परीक्षण शुल्क तिर्नुपर्ने उल्लेख छ। पुनः निर्यातका लागि आयात गरिएको चियाले पनि परीक्षणको प्रमाणपत्र लिनुपर्ने छ। पाँच दिनभित्र परीक्षणको प्रतिवेदन प्रयोगशालाले दिनेसमेत उल्लेख छ। यससँगै भारतीय टी बोर्डले भारत आयात हुने चियालाई गुणस्तरमा थप कडाइ गरेको छ।
जान थाल्यो चिया
गएको मे १ देखि भारतीय टी बोर्डले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युअर’ लागु गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प भएको नेपाली चिया मंगलबार भारत निर्यात भएको छ। मंगलबार नौ हजार किलो पठाइएको इलामको तारागाउँ टी स्टेटका सञ्चालक उत्तमकुमार श्रेष्ठले जानकारी दिए। ‘नौ हजार किलो अर्थात् एक कन्टेनर चिया कोलकाता पठाएका छौँ । त्यो चिया भन्सार पास भएर गएको छ । पर्सीसम्म कोलकाता पुग्छ,’ श्रेष्ठले भने, ‘अब त्यो चिया कसरी परीक्षण गरिन्छ भन्ने केही थाहा छैन । उताको व्यापारीले पठाउनु भनेपछि पठाइएको छ।’
‘भारतीय टी बोर्डले नयाँ व्यवस्था गरेकोमा भने अब गुणस्तरमा चिया उद्योगी, किसानले कुनै पनि तलमाथि गर्न सक्ने अवस्था नभएको मैले बुझेको छु,’ श्रेष्ठले भने। नेपाली चिया अब तेस्रो मुलुक पठाउने ढङ्गकै उत्पादन गर्नुको विकल्प नभएको उनले बताए। यसअघि जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुगेको दुई लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदममै थन्किएको चिया उद्योगीको भनाइ छ।




