नेपाली चियामा भारतको ‘अघोषित नाकाबन्दी’

हिमाल प्रेस २७ वैशाख २०८३ १४:४२ | Sunday, May 10, 2026
20
SHARES
नेपाली चियामा भारतको ‘अघोषित नाकाबन्दी’ इलामको देउमाई नगरपालिकास्थित पानीटार चियाबारी। तस्बिर : रासस

काठमाडौँ- भारतले नेपालमा उत्पादित चिया आयातमा अवरोध गर्दा निर्यात ठप्प बनेको छ। भारतले भन्सार नाकामा टी टेस्टिङ (परीक्षण) का नाममा झन्झट बढाएपछि चिया निर्यात ठप्प बनेको व्यवसायीले बताएका हुन्।

नेपाली चिया भारतीय नाका हुँदै तेस्रो देश निर्यात हुन्छ। नेपाली चियाको पहिलो ठूलो बजार भारत हो। यसपटक भारतले सिजनकै बेला नेपाली चिया रोकेको गुनासो व्यवसायीहरूले गरेका छन्।

भारतले नेपालमा उत्पादित चियाको गुणस्तर परीक्षणमा कडाइ गर्दा निर्यातमा सकस परेको हो। नेपालबाट लगिएको चियाको भारतीय नाकामा गुणस्तर परीक्षण गर्न थालेको छ। नेपाली चिया गुणस्तरीय भएमा मात्र निर्यात हुन दिने व्यवस्था छ। भारतले यसैलाई आधार बनाएर मे १ देखि आयातमा कडाइ गरेको हो। व्यवसायीका अनुसार पहिले एकपटक गुणस्तर परीक्षण गरिन्थ्यो। अब प्रत्येक पल्ट परीक्षण गर्नुपर्ने भएको छ।

प्रत्येक गाडीको नमुना लिनुपर्दा झन्झटिलो र खर्चिलो हुने गरेको छ। ‘पहिले वर्षमा दुई पटक परीक्षण गर्दा हुनेमा अहिले प्रत्येक गाडीको चिया परीक्षण गर्नुपर्ने भएको छ’, नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनाली भन्छन्, ‘एउटा प्रतिवेदन आउन १४ दिन लाग्छ। हामीले त्यतिन्जेल चिया कहाँ लाने?’ उनका अनुसार एउटा नमुना लिन १० हजार भारु खर्चिनुपर्छ।

‘भारततर्फ चिया पठाउन धेरै खर्चिलो भएको छ। आठ दिनदेखि नेपाली चिया पठाउन सकिएको छैन’, मैनालीले भने। नेपाली चिया विश्वमै गुणस्तरीय मानिन्छ। भारतमा उत्पादित चिया नेपालको भन्दा कम गुणस्तरीय मानिन्छ।

गोरखा टी स्टेटका संस्थापक उदय चापागाईँका अनुसार भारतीय चिया व्यापारीले नेपालको गुणस्तरीय चिया रोक्न यस्तो व्यवस्था गरेको हुन्।

‘हामी गुणस्तरीय चिया बेच्छौँ। भारतले त्यति गुणस्तरीय बेच्न सक्दैन। त्यही कारण कहिलेकाहीँ भारतले अवरोध गर्दै आएको छ,’ चापागाईं भन्छन्, ‘यसपटक भारतले नेपाली चियामा अघोषित नाकाबन्दी गरेको हो।’

भारतीय किसानको प्रभावका कारण भारतीय प्रदेश सरकारले विभिन्न समयमा अवरोध गर्दै आएको व्यवसायीहरूको गुनासो छ। चापागाईँले भने, ‘कहिले गुणस्तरको नाममा त कहिले परीक्षणका नाममा भारतले दुःख दिने गरेको छ।’

केन्द्रीय चिया सहकारी संघका महासचिव रवीन राईका अनुसार भन्सारमा चियाको परीक्षण गरेपछि कलकत्ताबाट प्रतिवेदन लिनुपर्छ। उनका अनुसार परीक्षण प्रतिवेदन आउन १४-१५ दिन लाग्छ। ‘प्रत्येक गाडीको चिया परीक्षण गरेर सम्भव हुन्न। कसरी गर्ने होला?’ राई थप्छन्, ‘पहिले पनि भारतले विभिन्न बहानामा चिया रोक्थ्यो। अहिले पनि त्यस्तै गरेको छ।’

किन ठप्प छ चिया निर्यात?

भारतले नेपालबाट निर्यात हुने चियामा वैशाख १८ देखि लागू हुने गरी शतप्रतिशत ल्याब परीक्षण गर्ने नयाँ नियम ल्यायो। भारतको संसदीय समितिको सिफारिसका आधारमा अन्य देशबाट आयात हुने चियाको निगरानी र नियन्त्रण गर्ने नीतिअनुसार कडाइ गरिएको हो।

नयाँ व्यवस्थाअनुसार भारतले अबदेखि नेपालबाट जाने हरेक चियाको पटकैपिच्छे पूर्ण ल्याब परीक्षण अनिवार्य थालेको छ। यसअघि चियाको निकासी जोखिममा आधारित परीक्षण व्यवस्थाबमोजिम हुने गर्दथ्यो।
भारतले गुणस्तर नभएको चियाको वितरण रोक्न यो प्रावधान ल्याएको दाबी गरे पनि यसले नेपाली व्यवसायीलाई ठूलो आर्थिक भार र तनाव दिएको छ। उद्यमी चापागाईँ भारतको यो कदम नेपालमाथिको अघोषित नाकाबन्दी भएको बताउँछन्। ‘भारतले जहिल्यै एउटा न एउटा बहाना बनाउँछ’, उनी भन्छन्। अहिले भारत निर्यात हुने चिया नाकामै रोकिएको छ।

सिजनमै धक्का

यो एकपाते (फस्ट फ्लस) चिया निर्यात गर्ने मुख्य सिजन हो। फागुनको पहिलो सातादेखि चैतको मध्यसम्म टिपिने चियालाई ‘फस्ट फ्लस’ भनिन्छ। जुन चिया सबैभन्दा गुणस्तरीय मानिन्छ।

चियाको बोटको कटिङपछि पहिलो पटक पलाएको र आकाशे पानीले समेत नभेट्टाएकाले त्यसलाई ‘चिया पत्तीको राजा’ मानिन्छ। ‘यतिबेला हाम्रो गुणस्तरीय चिया तेस्रो देश पठाउनुपर्छ’, चापागाईँ थप्छन्, ‘यसको निकास हामीबाट हुन्न। देशले नै गर्नुपर्छ।’

चिया तथा कफी विकास बोर्डका अनुसार अहिले भारतीय पक्षसँग कुरा गरेर चिया निर्यातमा सहजीकरण गर्ने काम भइरहेको छ। बोर्डका अधिकारीहरूले यसै विषयमा सोमबार श्रम तथा आपूर्ति मन्त्रालयमा छलफल गर्ने भएका छन्। ‘हामी यसको सहजीकरणको बाटो खोज्दैछौँ, चिया खुलाउने प्रयत्न हुँदै छ’, बोर्डका सदस्य दीपक खनालले भने।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि कूटनीतिक प्रावधानमार्फत चिया खुलाउने प्रयत्न भइरहेको स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार चिया उद्योगीसँग समन्वय गर्दै चियाको समस्या समाधान गर्ने प्रयत्न भइरहेको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पछिल्लो तथ्यांकअनुसार नेपालमा २० हजार ७६० हेक्टर हाराहारीमा चिया खेती हुँदै आएको छ। नेपालमा करिब दुई करोड ६९ लाख ८३ हजार १७५ किलोग्राम चिया उत्पादन हुँदै आएको बोर्डको तथ्यांक छ।

प्रकाशित: २७ वैशाख २०८३ १४:४२ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast