काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार सातौं कारोबार दिन ओरालो लाग्दै ६ महिनायताकै न्यून बिन्दुमा पुगेको छ। मंगलबार नेप्से २४.६३ अंकले घटेर २,६०८.०० विन्दुमा कायम भएको हो। यो स्तर गत पुस ९ यताकै सबैभन्दा न्यून हो। त्यसदिन नेप्से २,५८५ अंकमा रहेको थियो।
गत साताका पाँचै कारोबार दिन घटेको बजारले यो साताको पहिलो दुई दिन पनि निरन्तर गिरावट कायम राखेको छ। सोमबार नेप्से १६.५४ अंकले घटेको थियो। त्यसअघि गत साताको सोमबार १.४६, मंगलबार २६.१७, बुधबार १४.४६, बिहीबार ८.५० र शुक्रबार २.०० अंकले परिसूचक घटेको थियो।
बजारमा दिनभर बिक्रीचाप देखिए पनि कारोबार रकम भने बढेको छ। सोमबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।
आज ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घट्यो भने पाँच कम्पनीको मूल्य स्थिर रह्यो। सबै उपसमूहका परिसूचक ओरालो लागेका छन्। बैंकिङ ०.७३ प्रतिशत, विकास बैंक ०.०१, फाइनान्स १.००, होटल तथा पर्यटन ०.९३, जलविद्युत् १.४३, लगानी ०.७४, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन १.२०, माइक्रोफाइनान्स ०.५६, निर्जीवन बीमा ०.६१, अन्य १.३१ तथा व्यापार समूह १.७४ प्रतिशतले घटेका छन्।
हालै सूचीकृत स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको १३.०४ प्रतिशत, स्वाभिमान लघुवित्तको १०.८० प्रतिशत र सिर्जनशील लघुवित्तको ७.३९ प्रतिशतले मूल्य वृद्धि भएको छ।
यता टक्सार पिखुवाखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.०३ प्रतिशतले घटेको छ भने याम्बलिङ हाइड्रोपावर ८.२३ प्रतिशतले ओरालो लागेको छ। यी दुवै कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार दिनसम्म १५ प्रतिशतले बढेको थियो। सूचीकृत भएपछि पहिलो पटक यी कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो।
यस्तै सोपान फर्मास्युटिकल्सको ५.९० प्रतिशत, श्रीनगर एग्रिटेकको ५.४९ प्रतिशत र पियोर इनर्जीको ५.४८ प्रतिशतले सेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा मंगलबार सिद्धार्थ बैंक, टक्सार पिखुवाखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर तथा याम्बलिङ हाइड्रोपावर सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन्।




