कान्ति लोकपथमा दुई रात सवारी आवागमन बन्द

हिमाल प्रेस १६ असार २०८३ १५:५१ | Tuesday, June 30, 2026
6
SHARES
कान्ति लोकपथमा दुई रात सवारी आवागमन बन्द

काठमाडौँ- लगातारको मनसुन वर्षा र सम्भावित विपद्जन्य जोखिमलाई दृष्टिगत गर्दै कान्ति लोकपथमा दुई रात सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार जारी गरेको सूचनाअनुसार मकवानपुर जिल्लाको समन्वयमा कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनको सञ्चालन अस्थायी रूपमा रोकिएको हो।

सूचनाअनुसार कान्ति लोकपथमा असार १६ गते साँझ ५ बजेदेखि असार १७ गते बिहान ५ बजेसम्म तथा असार १७ गते साँझ ५ बजेदेखि असार १८ गते बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहनेछ। अर्को सूचना जारी नभएसम्म यो व्यवस्था लागू रहने सूचनामा उल्लेख छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाको जोखिम बढेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेपछि यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको ललितपुर प्रशासनले जनाएको छ।

प्रशासनले अत्यावश्यक बाहेक उक्त अवधिमा कान्ति लोकपथ प्रयोग नगर्न, वैकल्पिक मार्ग अपनाउन तथा जारी सूचनाको पालना गर्न सबै सरोकारवालासँग अनुरोध गरेको छ।

प्रकाशित: १६ असार २०८३ १५:५१ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast