एक सामुदायिक विद्यालय। फाइल तस्बिर ।
चितवन- रत्ननगर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई बिहान ९:३० बजेदेखि बेलुका ४:३० बजेसम्म अनिवार्य रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।
नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेद्वारा जारी सूचनाअनुसार नगर शिक्षा समितिको असार २३ गतेको निर्णय तथा नगरपालिकाको असार २२ गतेको पत्राचारअनुसार नेपाल सरकारले तोकेको सार्वजनिक बिदा बाहेक शनिबार र आइतबारको बिदाका कारण हुने पाठ्यघण्टा तथा कार्यघण्टाको क्षति पूर्ति गर्न विद्यालय सञ्चालनको समय बिहान ९:३० बजेदेखि बेलुका ४:३० बजेसम्म कायम गरिएको हो।
नगरपालिकाले केही विद्यालयले नगरपालिकासँग समन्वय तथा छलफल नगरी आफूखुसी विद्यालय सञ्चालन गरेको भन्ने व्यापक जनगुनासो आएपछि सबै विद्यालयमा एकरूपता कायम गर्न पुनः निर्देशन जारी गरिएको जनाएको छ।
नगरपालिकाभित्रका सबै विद्यालयले तोकिएको समयअनुसार पठनपाठन सञ्चालन गरी पाठ्यक्रमले निर्धारण गरेको कार्यघण्टा पूरा गर्नुपर्ने उल्लेख गरिएको छ। नगरपालिकाले यो व्यवस्था सबै विद्यालयका लागि अनिवार्य भएको बताएको छ।
नगरपालिकाले असार २५ गते पुनः जारी गरेको निर्देशनमा तोकिएको समयावधि अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै निर्देशनको अवज्ञा गरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।




