नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’/फाइल तस्बिर
काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।
राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएकाले श्रमजीवी किसानको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण हुने धारणा व्यक्त गरेका हुन्।
प्रचण्डले रोपाइँको मुख्य समयमा किसानले सहज रूपमा रासायनिक मल, गुणस्तरीय बीउबिजन, सिँचाइ सुविधा तथा आवश्यक कृषि सामग्री प्राप्त गर्ने वातावरण सुनिश्चित सरकारलाई सुझाव दिएका हछन्।
उनले कृषि उत्पादन वृद्धि, किसानको जीवनस्तर सुधार र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसले कृषि र किसानप्रतिको सम्मान बढाउने, उत्पादन वृद्धिको नयाँ संकल्प जगाउने तथा कृषि क्षेत्रको समग्र विकासमा सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।




