काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयन गर्न मतदान प्रक्रिया सुरू भएको छ।
पदाधिकारीमध्ये एक जना महिला उपसभापति, एक महामन्त्री र तीन महामन्त्री पदका लागि मतदान प्रक्रिया सुरू भएको हो।
महामन्त्री पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। महामन्त्रीका लागि विपिनकुमार आचार्य, गणेश कार्की, सागर ढकाल र मनिष झा प्रतिस्पर्धामा उत्रिएका हुन्।
यसअघि आठ जनाले उम्मेदवारी दिए पनि राजुनाथ पाण्डे, रन्जु दर्शना, गणेश पराजुली र प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्।
रन्जु दर्शना, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपाने, शिशिर खनाललगायतका नेताहरूले महामन्त्रीमा विपिनकुमार आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन्।
त्यस्तै महिला उपसभापतिका लागि सोविता गौतम र डा.तोसिमा कार्कीले उम्मेदवारी दिएका छन्। खुला उपसभापति पदमा डा.स्वर्णिम वाग्ले यसअघि नै निर्विरोध भइसकेका छन्।
दुई खुला सहमहामन्त्री पदका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त चुनावी मैदानमा छन्।
त्यस्तै एक महिला सहमहामन्त्रीका लागि जुली यादव, विदुषी शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा प्रतिस्पर्धा गरिरहेका छन्।




