काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन तालिका संशोधन भएको छ। रास्वपाका पदाधिकारी निर्वाचित गर्न तय भएको निर्वाचन तालिका संशोधन भएको हो।
पाँचौपटक संशोधन भएको निर्वाचन तालिकाअनुसार पार्टी पदाधिकारीका लागि राति सवा ९ बजेदेखि सवा १२ बजेसम्म मतदान हुनेछ।
यसअघि पदाधिकारी निर्वाचित गर्न अपराह्न ४ बजेदेखि मतदान हुने बताइएको थियो।
रास्वपाका सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। पार्टी विधानअनुसार वरिष्ठ नेता सभापतिबाट मनोनीत हुनेछन्। पार्टीको वरिष्ठ नेता प्रधानमन्त्री वालेन्द्र शाह मनोनीत हुने पक्का जस्तै छ।
त्यस्तै तीन जना उपसभापतिमध्ये एक जना सभापतिबाट मनोनीत हुनेछन् भने एक महिलासहित बाँकी दुई पदका लागि मतदान हुनेछ। मनोनीत भएर उपसभापति हुनेमा अर्थमन्त्रीसमेत रहेका डा.स्वर्णीम वाग्ले पक्का भएको बताइएको छ।
बाँकी दुई उपसभापतिका लागि विराजभक्त श्रेष्ठ, तोषिमा कार्की, सोविता गौतम र लिमा अधिकारीलगायतका नेताहरू दाबेदार देखिएका छन्।
रास्वपामा दुई जना महामन्त्री रहने व्यवस्था छ। पार्टी विधानअनुसार एक जना महामन्त्री सभापतिबाट मनोनीति हुनेछन् भने अर्को महामन्त्री निर्वाचित भएर आउने व्यवस्था छ।
एक जना महामन्त्रीका लागि रास्वपामा पाँच जना दाबेदार देखिएका छन्। महामन्त्रीका लागि वहालवाला महामन्त्री कवीन्द्र बुर्लाकोटीका साथै शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली र मनिष झा महामन्त्रीको दाबेदार देखिएका छन्।
त्यस्तै निर्वाचित हुने तीन सहमहामन्त्रीका लागि यज्ञमणि न्यौपाने, सागर ढकाल, रमेश प्रसाई, डा.अंकिता यादवले दाबी गरेको बुझिएको छ।
पदाधिकारीमा धेरै आकांक्षी देखिएपछि पार्टी सभापति लामिछाने सर्वसम्मतिको प्रयासमा जुटेको बताइएको छ। सर्वसम्मति गर्नका लागि निर्वाचन कार्यतालिका संशोधन गरिएको जनाइएको छ।






