काठमाडौँ- दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा बिहीबार एक मिनेटभित्रै दुई शक्तिशाली भूकम्प गएपछि सरकारले देशभर आपत्कालीन अवस्था घोषणा गरेको छ। भूकम्पका कारण भवनहरू भत्किएका छन् भने नागरिकहरू ज्यान जोगाउन सडकमा निस्किन बाध्य भएका छन्।
सीएनएनका अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प स्थानीय समयअनुसार साँझ ६:०४ बजे सान फेलिप नजिक गएको थियो। त्यसको करिब ४० सेकेन्डपछि युमारेको दक्षिणपूर्व क्षेत्रमा ७.५ म्याग्निच्युडको अझ शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपत्कालीन अवस्था घोषणा गरिएको जानकारी दिएकी छन्। उनले भूकम्पमा मानवीय क्षति भएको पुष्टि गरे पनि मृतकको यकिन संख्या सार्वजनिक गरेकी छैनन्।
भूकम्पका कारण राजधानी कराकसलगायत विभिन्न क्षेत्रमा भवन तथा पूर्वाधारमा व्यापक क्षति पुगेको छ। तटीय सहर क्याटिया ला मारमा समेत केही भवन भत्किएको भिडियोहरू सार्वजनिक भएका छन्। भूकम्पपछि मानिसहरू परिवारका सदस्य र घरपालुवा जनावरसहित भवनबाट बाहिर निस्किएर सडकमा जम्मा भएका थिए।
सर्वेक्षणले आफ्नो पेजर प्रणालीमार्फत ‘रेड अलर्ट’ जारी गर्दै ठूलो जनधनको क्षति र व्यापक विनाश हुन सक्ने चेतावनी दिएको छ। संस्थाका अनुसार यस प्रकारका विपद्ले राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको उद्धार तथा राहत अभियान आवश्यक पार्न सक्छ।
भूकम्पको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय र उद्धारकर्मीहरू देशभर परिचालन गरिएको छ। राजधानी काराकासको चाकाओ क्षेत्रमा मात्रै ५०० भन्दा बढी सुरक्षाकर्मी तथा उद्धारकर्मी खटाइएको बताइएको छ। केही क्षेत्रमा ग्यास सेवा बन्द गरिएको छ भने विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको छ। काराकास अन्तर्राष्ट्रिय विमानस्थल पनि अस्थायी रूपमा बन्द गरिएको छ।
यद्यपि, अमेरिकी सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामीको कुनै जोखिम नरहेको जनाएको छ। यसअघि जारी गरिएको प्यूर्टो रिको, भर्जिन टापुहरूलगायत क्षेत्रका लागि सुनामी चेतावनी पनि फिर्ता लिइएको छ।
बिहीबार भेनेजुएलामा सन्त जोन द ब्याप्टिस्ट दिवस तथा स्पेनबाट स्वतन्त्रता प्राप्तिको सम्झनामा सार्वजनिक बिदा रहेकाले धेरै मानिस घर वा सार्वजनिक समारोहमा सहभागी रहेका बेला भूकम्प गएको बताइएको छ।




