काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो भनाइलाई लिएर विभिन्न पक्षबाट आएका प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाएका छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना विचार सार्वजनिक गरेका हुन्।
भट्टराईले रास्वपा महाधिवेशनमा व्यक्त गरेका विचारबारे भएको आलोचनाप्रति प्रतिक्रिया दिँदै चिन्ता र चासो राख्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
उनले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नयाँ वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको भन्दै आफू पुरानो पार्टी छाडेर नयाँ अभियानमा होमिएको स्मरण गरेका छन्।
उनले रास्वपालाई ‘उदाउँदै गरेको प्रमुख शक्ति’ का रूपमा उल्लेख गर्दै आफूले सकेसम्म सल्लाह र सुझाव दिने नैतिक दायित्व रहेको बताएका छन्। उक्त सुझाव स्वीकार वा अस्वीकार गर्ने अधिकार सम्बन्धित पक्षको रहेको पनि उनले बताएका छन्।
भट्टराईले हालको राजनीतिक परिवेशलाई पुस्तान्तरणको चरणका रूपमा व्याख्या गर्दै विदेशमा रहेका लाखौँ नेपाली युवाको आक्रोश र आशा दुवै नयाँ राजनीतिक शक्तितर्फ केन्द्रित भएको उल्लेख गरेका छन्।
उनले पुराना राजनीतिक शक्तिहरूले नयाँ शक्तिप्रति देखाउने आलोचनालाई ‘स्वाभाविक चरित्र’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी पनि गरेका छन्। गलत व्याख्या र षड्यन्त्रका कथाहरू निर्माण नगर्न आग्रह गरेका छन्।
भट्टराईले नयाँ नेतृत्वले तत्काल सबै समस्या समाधान गर्न नसक्ने स्वीकार गर्दै जटिल राजनीतिक र आर्थिक अवस्थाबीच गल्ती हुन सक्ने बताएका छन्। तर त्यसलाई लिएर अत्यधिक डर वा अतिरञ्जना आवश्यक नरहेको उनको भनाइ छ।
उनले आफ्नो राजनीतिक संघर्षलाई स्मरण गर्दै सत्य र न्यायका लागि आजीवन संघर्ष जारी रहने प्रतिबद्धता दोहोर्याएका छन्।




