काठमाडौँ- ‘वन्यजन्तुको अवैध व्यापार/चोरी सिकार नियन्त्रण र वातावरण संरक्षणमा प्रहरी र समुदायको भूमिका’ विषयक एक एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलका १५० जना प्रहरी कर्मचारीको सहभागिता थियो।
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान संग्रहालय, स्वयम्भू, वातावरण कानुन समाज नेपाल, नेपाल पन्छीविद् संघ, कपन सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा संरक्षण, कानुन, विज्ञान तथा वातावरण क्षेत्रका विज्ञहरूले वन्यजन्तु अपराधका चुनौती तथा संरक्षणमा सहकार्यको आवश्यकताबारे धारणा राखेका थिए।
वातावरण कानुन समाज नेपालका सदस्य तथा वातावरण इन्जिनियर सुरज श्रेष्ठले सीमापार वन्यजन्तु अपराधप्रति समुदायका प्रतिक्रियासम्बन्धी प्रस्तुति दिँदै स्थानीय समुदायले अवैध वन्यजन्तु व्यापार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
श्रेष्ठले अन्तरदेशीय वन्यजन्तु अपराध नियन्त्रणका लागि स्थानीय समुदाय, कानुन कार्यान्वयन निकाय तथा संरक्षणकर्मीबीच सुदृढ सहकार्य आवश्यक रहेको उल्लेख गरे।
नेपाल पन्छीविद् संघका प्रमुख कार्यकारी अधिकृत लक्ष्मणप्रसाद पौड्यालले नेपालमा चराचुरुंगीमा केन्द्रित वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी प्रस्तुति दिँदै अवैध व्यापार र चोरी÷सिकारका कारण चराचुरुंगीहरू गम्भीर जोखिममा परेको बताए। पौड्यालले पन्छी संरक्षणका लागि निगरानी प्रणाली, कानुन कार्यान्वयन तथा जनचेतना अभिवृद्धिलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
प्राकृतिक विज्ञान संग्रहालयका प्रमुख एवं प्रमुख प्रशिक्षक डा. ईशान गौतमले ‘त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान संग्रहहालयको साइटिस कार्यान्वयनमा भूमिका र विज्ञान, शिक्षा र संरक्षणबीच सेतु निर्माणसम्बन्धी प्रस्तुति दिएका थिए। डा. गौतमले संग्रहालयले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) को कार्यान्वयनमा निर्वाह गरेको सक्रिय भूमिकाबारे जानकारी गराए।
वैज्ञानिक अनुसन्धान, संरक्षण शिक्षा, नमुना अभिलेखीकरण तथा जनचेतनामार्फत वन्यजन्तु संरक्षण र अवैध व्यापार नियन्त्रणमा पनि संग्रहालयले योगदान पुर्याइरहेको उनले बताए। गौतमले नेपाल सरकारले सन् १९९० मा नै प्राकृतिक विज्ञान संग्रहालयलाई साइटिसको वन्यजन्तु तर्फको नेपालको वैज्ञानिक निकाय तोकेको उल्लेख गर्दै संग्रहालयले प्रजाति पहिचान, वैज्ञानिक परामर्श तथा वन्यजन्तु संरक्षणमा संलग्न विशेषज्ञ सहयोग प्रदान गर्दै आएको जानकारी दिए।
पत्रकार, लेखक, लाङटाङ सद्भावना दूत तथा गाउँ पर्यटन दूत अशोक सिलवालले महासागरसम्मका पारिस्थतिकीय प्रणालीहरू एकआपसमा अन्तरसम्बन्धित रहेको उल्लेख गरे। सिलवालले वातावरणीय संरक्षण र वन्यजन्तु अपराधलाई समग्र दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रमको समापनमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलका प्रहरी उपरीक्षक तथा प्रमुख चक्रराज जोशीले प्रमुख स्रोतव्यक्ति डा. गौतम तथा स्रोतव्यक्ति पौड्याल र श्रेष्ठलाई धन्यवाद व्यक्त गरे। उपरीक्षक जोशीले यस्ता सचेतनामूलक कार्यक्रमले वन्यजन्तु अपराध तथा जैविक विविधता संरक्षणसम्बन्धी विषयमा प्रहरीको ज्ञान र क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए।
सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राजु खरेलले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने स्रोतव्यक्ति तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गरे। कार्यक्रमको सञ्चालन नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट तथा अधिवक्ता अमिन पाण्डेले गरेका थिए।
अभिमुखीकरण कार्यक्रमले वन्यजन्तु अपराध नियन्त्रण तथा जैविक विविधता संरक्षणका लागि कानुन कार्यान्वयन निकाय, वैज्ञानिक संस्था, संरक्षण संघसंस्था, कानुन व्यवसायी तथा स्थानीय समुदायबीचको सहकार्य अपरिहार्य रहेको सन्देश दिएको छ।




