काठमाडौँ- जनता समाजवादी पार्टी अघि बढाउन नसकिने अदालती फैसलापछि पूर्वमन्त्री अशोक राईले नयाँ पार्टी अघि बढाउने प्रक्रिया सुरु गरेका छन्। उनले निर्वाचन आयोगमा ‘समाजवादी पार्टी’ दल दर्ताका लागि निवेदन दिएको छन्। समाजवादी पार्टीमा अध्यक्ष राई आफै रहने प्रावधान छ भने उपाध्यक्षहरुमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दान बहादुर विश्वकर्मा रहेका छन् । श्रेष्ठ पूर्व सांसद एवं राईपत्नी हुन्।
शरणकुमार राई उपमहासविच तथा सचिव पदमा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भीमबहादुर तामाङ रहेका छन्। अध्यक्ष राईले ८ जना पदाधिकारी सहित २८ जनाको केन्द्रीय समिति सदस्यहरुको नामावली सहित दल दर्ताका लागि निवेदन दिएका हुन् ।
यसअघि अशोक राईको समूहले उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी, नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गरेको थियो । सो पार्टी फुट विरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा पार्टीफुट गैरकानूनी भएको भन्दै सोविरुद्ध मुद्दा दिएका थिए ।
सोही मुद्दाको फैसला बमोजिम सर्वोच्चले अशोक राई नेतृत्वको जसपालाई कानूनी मान्यता नदिएपछि अशोक राईको समूह पार्टी बिहीन बन्न पुगेको थियो ।
त्यसपछि राई पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो ।




