लियोनेल मेस्सी, किलियन एम्बाप्पे र एर्लिङ हालान्ड। तस्बिर : एपी/रासस
काठमाडौँ- सन् २०२६ विश्वकपमा गोल्डेन बुटको प्रतिस्पर्धा इतिहासकै सर्वाधिक रोमाञ्चक मोडमा पुगेको छ। दुई खेलपछि लियोनेल मेस्सी पाँच गोलसहित अग्रस्थानमा रहँदा किलियन एम्बाप्पे र एर्लिङ हालान्ड समान चारचार गोलका साथ उनको नजिकै छन्।
विश्वकप इतिहासमा दुई खेलपछि तीन खेलाडीले चार वा सोभन्दा बढी गोल गरेको यो सन् १९५४ पछिको पहिलो घटना हो। फुटबलका यी सुपरस्टारहरू गोल्डेन बुटका लागि मात्र होइन, विश्वकपका सर्वकालीन गोल कीर्तिमानहरू तोड्ने दौडमा देखिएका छन्।
यस पटक उत्कृष्ट फरवार्डहरूबाट असाधारण गोलवर्षा भएको केही घण्टाको दृश्य देखियो।
सबैभन्दा पहिले मेस्सी चम्किए। अर्जेन्टिनाले अस्ट्रियामाथि जित निकाल्दा उनले दुई गोल गर्दै विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखाए।
त्यसपछि एम्बाप्पेले पनि उस्तै जवाफ फर्काए। आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेलमा फ्रान्सले इराकलाई पराजित गर्दा उनले दुई गोल गरे। खराब मौसमका कारण उक्त खेल ढिलो सुरु भएको थियो।
लगत्तै हालान्डको पालो आयो। सेनेगलमाथि नर्वेको जितमा दुई गोल गर्दै उनले टोलीलाई अन्तिम ३२ मा पुर्याए। पहिलो विश्वकप यात्राका लागि उनको यो खराब सुरुआत होइन।
अहिले यस्तो लागिरहेको छ- एक खेलाडीले जे गर्छ, अर्कोले त्योभन्दा अझ राम्रो गर्ने प्रयास गरिरहेको छ। यो सबै इंग्ल्यान्डका ह्यारी केनले मंगलबार घानाविरुद्ध आफ्नो पहिलो खेलमा गरेको दुई गोलको संख्या बढाउने अवसर पाउनुअघि नै भइरहेको छ।
विश्वका उत्कृष्ट खेलाडीहरूले फुटबलको सबैभन्दा ठूलो मञ्चमा लगातार कीर्तिमान तोडिरहेका छन् र हामी सम्भवतः कुनै विशेष ऐतिहासिक क्षणको साक्षी बन्दैछौँ भन्ने अनुभूति बढ्दै गएको छ।
फ्रान्सेली फुटबल विशेषज्ञ जुलियन लोरेन्सले बीबीसी स्पोर्टसँग कुरा गर्दै भने, ‘यी ठूला स्टार खेलाडीहरू सधैँ बल आफ्नो खुट्टामा चाहन्छन्।’
उनले थपे, ‘मलाई लाग्छ, उनीहरू गोल्डेन बुटको पछि लागेका छैनन्, केही खेलाडी त सर्वकालीन गोल कीर्तिमानकै दौडमा पनि छन्।’
मेस्सी बने विश्वकपका सर्वाधिक गोलकर्ता
प्रतियोगिता सुरु हुँदा जर्मनीका मिरोस्लाभ क्लोस १६ गोलसहित विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता थिए।
दुई खेलपछि ३८ वर्षीय मेस्सी २८ विश्वकप खेलबाट १८ गोलसहित शीर्ष स्थानमा पुगेका छन्। यस संस्करणमा अर्जेन्टिनाले गरेका पाँचै गोल उनको तर्फबाट भएको छ।
यद्यपि एम्बाप्पे धेरै पछाडि छैनन्।
फ्रान्सेली स्टारले १६ खेलमा १६ गोल गर्दै क्लोसको कीर्तिमान बराबरी गरेका छन्। उनी धेरैपटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्ने लक्ष्यमा छन्, त्यसरी नै ह्यारी केन पनि छन्। साथै मेस्सीको कुल गोलसंख्या पार गर्ने लक्ष्य पनि उनीहरूको नजरमा छ।
लोरेन्सले भने, ‘हामीले सोचेका थियौँ- यो फेरि किलियन एम्बाप्पेको सो हुनेछ, किनभने उनी अविश्वसनीय कीर्तिमानको पछाडि लागेका छन्। तर अहिले त्यो कीर्तिमान लियोनेल मेस्सीको नाममा छ।’
हालान्डको चर्चा कहिले सुरु होला? सम्भवतः यो विश्वकप सकिँदासम्म होइन, तर उनले अहिलेको गोल गर्ने गति कायम राखे भने भविष्यमा उनी पनि सर्वकालीन कीर्तिमानको दौडमा रहने निश्चित छ।
२५ वर्षीय हालान्ड विश्वकपका आफ्ना पहिलो दुई खेलमा दुवैमा एकभन्दा बढी गोल गर्ने छैटौँ खेलाडी बनेका छन्। नर्वेका लागि ५२ खेलमा ५९ गोलको उनको तथ्यांक आफैँमा अद्भुत छ।
पूर्व स्कटल्यान्ड स्ट्राइकर एली म्याककोइस्टले आईटीभीसँग भने, ‘प्राकृतिक फुटबली क्षमताका हिसाबले मेस्सी सबैभन्दा अगाडि छन्, सम्भवतः एम्बाप्पे दोस्रो स्थानमा छन्। तर गोल गर्ने क्षमताको कुरा गर्दा हालान्ड जत्तिको उत्कृष्ट अरू कोही छैन।’
उनले थपे, ‘यी खेलाडीहरूको तुलना गर्न असम्भव छ। ह्यारी केन हालान्डभन्दा धेरै पक्षमा राम्रो फुटबलर हुन्। तर बललाई जालीभित्र पुर्याउने मामिलामा हालान्ड सम्भवतः संसारकै उत्कृष्ट खेलाडी हुन्। फिनिसिङमा उनलाई उछिन्न निकै कठिन छ।’
पूर्व इंग्ल्यान्ड मिडफिल्डर करेन कार्नीले भनिन्, ‘आज सुपरस्टारहरूको दिन थियो। मेस्सीले सबैको ध्यान खिचे, एम्बाप्पे र हालान्डको प्रदर्शन अविश्वसनीय थियो। अब मंगलबार ह्यारी केन पनि यस प्रतिस्पर्धामा थपिएको देख्न पाइयोस् भन्ने आशा गरौँ।’
प्रतियोगिताको पहिलो दिनदेखि नै विश्वका खतरनाक फरवार्डहरूले कीर्तिमानहरू तोडिरहेका छन्।
मेस्सीले विश्वकपका सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थान कब्जा गर्नु सबैभन्दा ठूलो समाचार बनेको छ र त्यसका लागि उनी पूर्ण रूपमा योग्य छन्।
यो प्रतियोगितामा कीर्तिमान बनाउने खेलाडी उनी मात्र होइनन्।
एम्बाप्पे अहिले फ्रान्सका सर्वाधिक गोलकर्ता बनेका छन्। हालान्ड दुई खेलमै नर्वेका विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेका छन्। ह्यारी केनले भने इंग्ल्यान्डका लागि ग्यारी लाइनकरको विश्वकप गोल कीर्तिमान बराबरी गरेका छन्।
अब यी सबैको नजर सन् १९५८ मा फ्रान्सका जस्ट फन्टेनले एकै विश्वकपमा बनाएको १३ गोलको कीर्तिमानमा छ।
अहिलेसम्म तीन खेलाडीले मात्र एक विश्वकपमा १० वा सोभन्दा बढी गोल गरेका छन्- फन्टेन (१९५८), जर्मनीका गर्ड मुलर (१९७०) र हंगेरीका सान्डोर कोचिस (१९५४)।
यो प्रतियोगिता सकिँदासम्म त्यो सूची विस्तार भएमा कुनै अचम्म हुने छैन।
४८ टोलीको नयाँ ढाँचाले गोलको सम्भावना बढाएको देखिन्छ। कमजोर श्रेणीका टोलीहरू थपिँदा विश्वका उत्कृष्ट आक्रमणकारीहरूले त्यसको फाइदा उठाएका छन्।
यसबाहेक विश्वकप विजेताले अघिल्ला संस्करणभन्दा एक अतिरिक्त चरण खेल्नुपर्ने भएकाले गोल गर्ने अवसर पनि बढेको छ।
पूर्व फ्रान्सेली डिफेन्डर गेल क्लिसीले बीबीसी स्पोर्टसँग भने, ‘किलियन एम्बाप्पे त्यस्तो पुस्ताका प्रतिनिधि हुन् जसमा कुनै डर छैन।’
उनले सम्झिँदै भने, ‘हामीले खेल्न सुरु गर्दा पुराना खेलाडीहरूलाई धेरै सम्मान दिनुपर्थ्यो। अहिलेको पुस्तामा पनि सम्मान छ, तर भिन्न तरिकाले। उमेरको होइन, प्रदर्शनको कुरा गरिन्छ।’
गोल्डेन बुटको दौड
गोल्डेन बुटबारे कुरा गर्दा एम्बाप्पेले आफूले त्यसबारे नसोचेको बताएका छन्। उनले भने, ‘मेले अहिले त्यसबारे सोचिरहेको छैन। लियो (मेस्सी) ले सधैँ गोल गर्छन्। उनले सधैँ गरेका छन् र सधैँ गर्नेछन्।’
‘म उनको प्रदर्शन हेर्न थालेँ भने आफूले अझ धेरै गर्नुपर्छ भन्ने दबाब महसुस हुनेछ। त्यसैले म उनको बारेमा सोच्दिनँ। म टोलीलाई सहयोग गर्नेबारे सोचिरहेको छु। टोलीलाई सहयोग गर्दा गोल पनि हुन्छ र त्यही स्तरतर्फ नजिक पुगिन्छ।’
नर्वेका प्रशिक्षक स्टाले सोलबाकेनले स्वाभाविक रूपमा हालान्डको पक्षमा वकालत गरे।
उनले भने, ‘उनी संसारकै उत्कृष्ट स्ट्राइकर हुन्। उनी फ्रान्स वा अर्जेन्टिनाका लागि होइन, नर्वेका लागि खेल्छन्। विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उनले चार गोल गरिसकेका छन्।’
‘फ्रान्स वा अर्जेन्टिनाका लागि खेल्दा गोल्डेन बुट जित्न सजिलो हुन सक्छ। तर हामी एर्लिङलाई थप खेल र थप सहयोग दिने प्रयास गर्नेछौँ। उनी अहिले उत्कृष्ट लयमा छन् र विश्वकपमा गोल गर्न सफल भएकोमा म अत्यन्त खुसी छु’, उनले भने।
अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनले पनि पहिलो दुई खेलमा दुई गोल गर्दै राम्रो थालनी गरेका छन्।
उनले प्रतिस्पर्धाको सबैभन्दा सटिक व्याख्या गरे। उनले हाँस्दै भने, ‘यो अलिकति झर्कोलाग्दो पनि छ। मेस्सी, एम्बाप्पे र हालान्डजस्ता खेलाडीलाई हेर्दा उनीहरू अपरिहार्यजस्ता लाग्छन्। उनीहरू हरेक खेलमा कम्तीमा एक गोल त गर्छन्, कहिलेकाहीँ अझ बढी पनि गर्छन्।’ बीबीसीबाट




