काठमाडौँ- सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।
काठमाडौँ महानगरले सडकपेटी, मठमन्दिर र चोकहरूमा आफ्नो जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरुले सोमबार काठमाडौँको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सडकपेटी आश्रित दृष्टिविहीन नागरिक सुदीप ओलीले सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन नदिएको गुनासो गरे।
नगरप्रहरीहरूले आएर दमन गर्ने, दिनभर होल्डिङ सेन्टरमा थुन्ने र महिलाहरूमाथि अभद्र व्यवहार गर्ने गरेको उनले बताए। राज्यले दृष्टिविहीनहरूलाई सडकपेटीमा मर्यादित रूपमा गरी खान दिनुपर्ने, योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्नुपर्ने उनको माग छ।
राज्यले आफूहरुलाई रोजगार दिन नसकेको खण्डमा बेरोजगार भत्तावापत प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।




