काठमाडौँ- चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्द सत्र निर्धारित समयमै सुरु हुन सकेको छैन।
कार्यतालिका अनुसार बिहान साढे ८ बजे सुरु हुनुपर्ने बन्द सत्र महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने प्रक्रिया नसकिएकाले ढिला भएको हो। रास्वपा नेता गणेश पराजुलीका अनुसार प्रतिनिधि नामावलीमा रहेका त्रुटि सच्याउने काम जारी रहेकाले बन्द सत्र निर्धारित समयभन्दा पछि धकेलिएको हो। उनले प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै बन्द सत्र सुरु हुने बताए।
निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको करिब चार हजार प्रतिनिधिको प्रारम्भिक नामावलीमा विभिन्न त्रुटि भेटिएपछि त्यसलाई सच्याउन र पुनः रुजु गर्न समय लागेको जनाइएको छ। त्रुटि सच्याउन प्रतिनिधिहरूले निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
आजको बन्द सत्रमा पार्टीका विभिन्न प्रतिवेदन र प्रस्तावहरू प्रस्तुत गरिने कार्यक्रम छ। अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् भने कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव तथा उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको अर्थ-राजनीतिक प्रस्तावना प्रस्तुत गर्नेछन्।
उक्त प्रतिवेदन र प्रस्तावहरू पारित भएपछि सभापति रवि लामिछाने ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।




