अमेरिका-इरान वार्ता स्विट्जरल्यान्डमा, आणविक कार्यक्रम नियन्त्रणबारे छलफल

हिमाल प्रेस ७ असार २०८३ १३:२५ | Sunday, June 21, 2026
18
SHARES
अमेरिका-इरान वार्ता स्विट्जरल्यान्डमा, आणविक कार्यक्रम नियन्त्रणबारे छलफल अमेरिकी उपराष्ट्रपति जेडी भान्स, पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफ र इरानका परराष्ट्रमन्त्री अब्बास अराघ्ची।

काठमाडौँ- अमेरिकाका उपराष्ट्रपति जेडी भान्स आइतबार स्विट्जरल्यान्ड पुगेका छन्। उनी इरानी नेताहरूसँग तेहरानको आणविक कार्यक्रम नियन्त्रण गर्ने विषयमा औपचारिक वार्ता थाल्न त्यहाँ पुगेका हुन्। यससँगै इरानमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित बनेको अस्थायी सम्झौतालाई ठोस रूप दिने प्रयास भइरहेको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ।

गत साता यो प्रारम्भिक खाकामा हस्ताक्षर गरिएको थियो। अब दुवै देशका शीर्ष वार्ताकारहरू आगामी ६० दिनभित्र प्राविधिक विवरणमा सहमति जुटाउने दौडमा छन्। सहमतिले विश्व अर्थतन्त्र र वैश्विक सुरक्षामा ठूलो प्रभाव पर्ने बताइएको छ।

तर अस्थायी सम्झौतामाथि सुरुवातमै संकट देखिएको छ। इजरायलले लेबनानमा आक्रमण जारी राखेपछि इरानले सम्झौताप्रति असन्तुष्टि जनाउँदै होर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको छ। साथै स्विट्जरल्यान्डमा हुने वार्ताबाट ठूलो प्रगति हुने सम्भावना कम रहेको पनि इरानले संकेत गरेको छ।

लेबनानमा इजरायल र इरान समर्थित समूह हिज्बुल्लाहबीच जारी भीषण भिडन्तका कारण पछिल्ला दिनहरू तनावपूर्ण बनेका छन्। यो जलमार्ग विश्वको कुल व्यापारिक तेल र ग्यासको करिब पाँचौँ हिस्सा ओसारपसार हुने अत्यन्त महत्त्वपूर्ण मार्ग हो।

भान्स सुरुमा शुक्रबार लुसर्न नजिकको बर्गेनस्टक रिसोर्टमा हुने वार्तामा सहभागी हुने कार्यक्रम थियो, तर लेबनानमा तनाव बढेपछि उनको यात्रा ढिलो भएको छ।

अमेरिकी सेन्ट्रल कमान्डले भने इरानको होर्मुज बन्द गरिएको दाबी अस्वीकार गर्दै समुद्री मार्ग अझै सञ्चालनमै रहेको जनाएको छ। भान्सले पछिल्ला दिनहरूमा लाखौँ ब्यारेल तेल उक्त मार्गबाट पार भएको बताएका छन्।

वार्तामा अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुसनर पनि सहभागी छन्। इरानका तर्फबाट सभामुख मोहम्मद बाघेर गालिबाफ, परराष्ट्रमन्त्री अब्बास अराघची तथा केन्द्रीय बैंक र तेल क्षेत्रका अधिकारीहरू वार्तामा सहभागी छन्।

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेना प्रमुख फिल्ड मार्सल आसिम मुनिर तथा कतारी मध्यस्थकर्ताहरू पनि वार्तामा सहभागी हुने जनाइएको छ।

यसबीच अमेरिकी प्रशासनले इरान युद्धपछि तेल मूल्य स्थिर रहेको भन्दै विश्व बजारलाई आश्वस्त पार्ने प्रयास गरिरहेको छ। सम्झौता सार्वजनिक भएपछि तेलको मूल्यमा करिब ८ प्रतिशत गिरावट आएको बताइएको छ।

इजरायल र हिज्बुल्लाह सम्झौतामा पक्ष नभएकाले अवस्था अझै जटिल बनेको छ। युद्धविराम भए पनि लेबनानमा भएको पछिल्लो भिडन्तमा ४७ जना मारिएका छन् भने इजरायलका चार सैनिकको मृत्यु भएको उल्लेख गरिएको छ।

प्रकाशित: ७ असार २०८३ १३:२५ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast