काठमाडौँ – वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड २०२६‘ प्रदान गरेको छ।
नर्वेको ट्रम्सोमा जारी एम्सको २५औँ वर्ल्ड कंग्रेसमा शुक्रवार राति एक बिशेष समारोहमा अवार्ड प्रदान गरिएको हो। एम्स अध्यक्ष पाको बोराओले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई उक्त अवार्ड प्रदान गरे।
संसारभरका रेस आयोजकमध्येबाट एक आयोजकलाई छनौट गरिने ‘एम्स सोसल अवार्ड’ वर्ल्ड रनिङको निकै प्रतिष्ठित अवार्ड हो। एम्समा विश्वभरबाट झण्डै पाँच सयबढी रेस आयोजक सदस्य छन्।
यतिबेला अधिकांस सदस्य नर्वेको ट्रम्सोमा भेला भएका छन्। बर्लिन म्याराथनका संस्थापक एवं एम्सका सहसंस्थापक ९० बर्षिय हस्र्ट मिल्डे समेत कंग्रेसमा सहभागी छन्।
प्रतिष्ठित म्याराथन आयोजकहरुका माझ एम्स सोसल अवार्ड प्राप्त गर्न पाउँदा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले खुशी व्यक्त गरे। ‘अनपेक्षित उपलब्धि हासिल गरेको अनुभुति भएको छ, अब नेपालमा म्याराथन आयोजनाको फैलावट र गरिमा अझ बढ्ने अपेक्षा छ,’ संस्थापक ठकुरीले भने, ‘यो नेपालगन्ज म्याराथनले मात्र हैन, सिंगो देशले पाएको सम्मान हो, किनकी यो एम्सको एकमात्र अवार्ड हो।’
यसअघि २०१३ मा ग्रेट इथोपियन रन (इथोपिया), २०१४ मा टोकियो म्याराथन (जापान), २०१५ मा म्याराथन इन्टरनेसनल लाला (मेक्सिको), २०१६ मा म्युनिख म्याराथन (जर्मनी), २०१७ मा म्याराथन दि लस फ्लोरेस मेडेलिन (कोलम्बिया), २०१८ मा बेलग्रेड म्याराथन (सर्बिया), २०१९ मा हार्मोनी जेनेभी म्याराथन फर युनिसेफ (स्वीटजरल्याण्ड) ले यो अवार्ड प्राप्त गरेका थिए।
विविध कारणले बीचमा केही वर्ष रोकिएको एम्स सोसल अवार्डलाई यस वर्षदेखि निरन्तरता दिइएको हो। नेपालगन्ज म्याराथनको निरन्तरता, विभिन्न अवधारणाका दौड सञ्चालन, विश्वव्यापी समस्याका रुपमा देखिएका जलवायु परिवर्तनसम्बन्धि जागरण अभियान, कोभिड कालमा विश्व ठप्प भएका बेला समेत टोकियो ओलम्पिकका लागि छनोट प्रतियोगिता गराई राज्यलाई सघाएको, रनिङ म्यागजिन निरन्तर प्रकाशन गरिरहेको जस्ता विषयमा मुल्यांकन गर्दै एम्सले संसारभरबाट नेपालगन्ज म्याराथन छानिन सफल भएको संस्थापक ठकुरीको बुझाइ छ।
नेपालगन्ज म्याराथन २०१५ देखि अभिछिन्न रुपमा सञ्चालन हुँदै आएको दौड हो।
कोभिडकालमा समेत नेपाल सरकारको प्रोटोकल कायम राख्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने काम नेपालगन्ज म्याराथनले गरेको थियो। एघार वर्षे सशत्र द्वन्द्व विधिवत अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता गरिएको ५ मंसिर २०६३ को स्मरणमा २०७२ सालदेखि नेपालगन्जले म्याराथन यात्रा सुरु गरेको हो।
बहुल जाति, धर्म र सम्प्रदायको बसोबास रहेको नेपालगन्जलाई शान्ति, सदभाव र एकताको मालामा गाँस्ने प्रभावशाली माध्यमका रुपमा म्याराथन विधालाई लिएर सुरु गरिएको नेपालगन्ज म्याराथनसँग अहिले करिब एक दर्जन भगिनी इभेन्ट सन्चालनमा छन्। स्कुले बालबालिकालाई जलवायु परिवर्तनले निम्त्याएको समस्याबारे सचेतना र अनुकूलनतर्फ प्रेरित गर्नेगरी गौघाट ग्रीन रन र राप्तीसोनारी नेचर रन दुई बर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको छ।
रात्रिकालीन समयमा समेत सुरक्षित अनुभुति दिलाउन नेपालगन्ज १० के नाइट रनका दुई संस्करण आयोजना भइसकेका छन्। त्यसैगरी विश्वसामु नेपाली सम्पदालाई प्रचारप्रसार गर्ने उद्देश्यले गत वर्षदेखि काठमाडौँ २५ किमी हेरिटेज रेस सुरु गरेको छ। साथै कर्णाली प्रदेशमा समेत कर्णाली हाफ म्याराथन सुरु गरेको छ।
त्यस्तै, लोकतन्त्रमा संवाद वहसलाई अपरिहार्य महसुस गरेर नेपालगन्ज डिस्कोर्सको शृंखला नेपालगन्ज कनक्लेवका ६ संस्करण संचालन भइसकेका छन्। गत वर्ष एम्सको बोर्ड बैठकसहित नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्ससमेत आयोजना गरिएको थियो। जहाँ १८ देशका प्रतिनिधि सहभागी थिए।
यसबर्षदेखि वन ग्लोबल माइलअन्तर्गत नेपालमा कोहलपुर माइल र काठमाडौं माइल समेत सुरु गरिँदै छ। यसका साथै नेपाल रनिङ म्यागजिनसमेत निरन्तर प्रकाशन हुँदै आएको छ।




