रास्वपाको महाधिवेशनमा मत खसाल्ने प्रतिनिधि ४२१० जना, कुन प्रदेशबाट कति?

हिमाल प्रेस ६ असार २०८३ १३:३० | Saturday, June 20, 2026
10
SHARES
रास्वपाको महाधिवेशनमा मत खसाल्ने प्रतिनिधि ४२१० जना, कुन प्रदेशबाट कति? असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधि र पाहुनाको स्वागतका लागि निर्माण गरिएको स्वागतद्वार। तस्बिर : रासस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि संख्या चार हजार २०० भन्दा बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ।

सचिवालयका सङ्गठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा तीन हजार ८१० प्रतिनिधि देखिएको छ। यसमा २५ देशका प्रभास सम्पर्क विभागबाट २०० हाराहारी प्रतिनिधि थप हुने उनले जानकारी दिए।

विधानतः सभापतिले मनोनय गर्ने सङ्ख्या २०० रहेको छ। यसका अतिरिक्त समूहगत रुपमा पार्टी प्रवेश गर्नेबाट अरु केही थप हुनसक्ने श्रेष्ठले बताए। आज बिहानसम्ममा गरिएको सूचीमाथि दाबी विरोध, दोहोरो पर्ने र छुटपुट भएमा त्यसलाई समावेश गरी अन्तिम नामावली प्रकाशन गरिनेछ।

रास्वपाको आज बस्ने केन्द्रीय समितिको बैठकमा सभापतिले विधानतः मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेस भएपछि साँझसम्ममा अन्तिम नामावली तयार हुने उनले जानकारी दिए।

प्रारम्भिक तथ्याङ्कअनुसार कोशी प्रदेशबाट प्र्रतिनिधिको सङ्ख्या ५२० रहेको छ। मधेशबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने उनले बताए।

महाधिवेशन प्रतिनिधिका रुपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना, प्रदेश समितिका सबै सदस्यहरु रहने व्यवस्था छ।

यसैगरी, प्रदेशको विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी प्रतिनिधि हुने व्यवस्था छ। सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय समितिका सबै, केन्द्रमा रहेको ३८ वटा विभागका ११ जनाका दरले सदस्य र केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ११ जनाका दरले प्रतिनिधि हुनेछन्।

प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि हुनेछन्। प्रदेश सम्पर्क विभागबाट तीन जनाका दरले र जिल्ला सम्पर्क विभागबाट एक–एक जनाका दरले प्रतिनिधि हुने व्यवस्था छ।

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाकातर्फबाट उपविजेता र समानुपातिक सूचीमा रहेका प्रतिनिधि हुनेछन्। यस्तै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उपविजेता र समानुपातिक बन्दसूचीमा रही पार्टीमा सक्रिय भएका पनि प्रतिनिधि रहनेछन्। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यसमेत प्रतिनिधि हुने व्यवस्था छ।

आइतबार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन सत्र हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ। महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरु चितवन आइसक्नुभएको छ। प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह आइतबार नै चितवन आउने कार्यक्रम रहेको छ।

प्रकाशित: ६ असार २०८३ १३:३० | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast