संसद्‌मा कांग्रेसको प्रश्न- प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने?

हिमाल प्रेस ५ असार २०८३ १२:३७ | Friday, June 19, 2026
6
SHARES
संसद्‌मा कांग्रेसको प्रश्न- प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने?

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि दबाब दिइएको भन्ने विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएको छ।

शुक्रबारको संसद्‌मा कांग्रेस सांसद खडगबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र आदेश दिने व्यक्तिहरू को हुन् भनेर प्रश्न उठाउँदै संवैधानिक निकायको स्वतन्त्रतामाथि हस्तक्षेप हुन नहुने बताएका छन्।

सांसद बुढाले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनिल केसीमाथि भइरहेको अनुसन्धानका क्रममा अख्तियार प्रमुखसहितको टोलीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर दबाब दिइएको भन्ने सार्वजनिक विवरणप्रति आपत्ति जनाए। उनले अख्तियारलाई सरकारको मातहतको निकाय नभई संविधानले व्यवस्था गरेको स्वतन्त्र संवैधानिक अंग भएको स्मरण गराए।

उनले अख्तियारको भूमिका सरकारसहित राज्यका निकायमाथि निगरानी राख्ने र शक्ति सन्तुलन कायम गर्ने भएको बताए। ‘अख्तियार कसैको गोजीको संस्था होइन,’ उनले भने। उनले संवैधानिक निकायलाई प्रभावमा पार्ने कुनै पनि प्रयास लोकतान्त्रिक शासन व्यवस्थाका लागि घातक हुने बताए।

सांसद बुढाले प्रधानमन्त्री कार्यालयबाट अख्तियारमाथि दबाब सिर्जना गरी निर्णय गराउने प्रवृत्ति संस्थागत भए भविष्यमा सरकारका गलत कार्यहरू नियन्त्रण गर्न कठिन हुने चेतावनी दिए। उनले प्रधानमन्त्रीले पनि अख्तियारको संवैधानिक हैसियत बुझ्न आवश्यक रहेको धारणा व्यक्त गरे।

यस क्रममा उनले लोकतान्त्रिक गणतन्त्रमा संविधान र कानुनले नचिनेका ‘अदृश्य शक्ति’ वा ‘गिरोह’ सक्रिय भएको चर्चा हुन थालेको दाबी गरे। प्रधानमन्त्री कार्यालयमा बसेर राज्यका विभिन्न संयन्त्रहरूलाई प्रभावित पार्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले यस्ता गतिविधि लोकतन्त्रका लागि शुभ संकेत नभएको बताए।

सांसद बुढाले सरकारका विभिन्न मन्त्रालयमा मन्त्रीहरू औपचारिक रूपमा देखिए पनि निर्णय प्रक्रियामा अन्य अदृश्य शक्ति सक्रिय रहेको आशंका व्यक्त गरे। उनले राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र संवैधानिक संस्थाहरूको स्वतन्त्रता सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

प्रकाशित: ५ असार २०८३ १२:३७ | Friday, June 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast