श्रीलंकाका पूर्वराष्ट्रपतिका छोरा भ्रष्टाचार आरोपमा पक्राउ

हिमाल प्रेस ४ असार २०८३ ९:०७ | Thursday, June 18, 2026
20
SHARES
श्रीलंकाका पूर्वराष्ट्रपतिका छोरा भ्रष्टाचार आरोपमा पक्राउ

काठमाडौँ- श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका छोरा योशिता राजपाक्षे बुधबार भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्। श्रीलंकाको भ्रष्टाचार विरोधी आयोगका अनुसार ३८ वर्षीय योशितामाथि नौसेना अधिकारीका रूपमा अन्तर्राष्ट्रिय तालिम प्राप्त गर्न सरकारी कोषको दुरुपयोग गरेको आरोप छ।

आयोगका अनुसार आवश्यक योग्यता नपुगे पनि उनी नौसेनाको उच्च पदमा पुगेका थिए। र, उनलाई तालिमका लागि बेलायत पठाइएको थियो। योशिता सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी दुईवटा मुद्दाका पनि अभियुक्त हुन्। यसअघि उनी ती मुद्दामा धरौटीमा रिहा भएका थिए । उनीमाथि विदेश यात्रा गर्न समेत प्रतिबन्ध लगाइएको थियो।

समाचार एजेन्सी रोयटर्सका अनुसार, बुधबार उनलाई भ्रष्टाचार विरोधी आयोगले कोलम्बोको मुख्य मजिस्ट्रेट अदालतमा उपस्थित गराएको थियो। अदालतले पुनः धरौटीमा रिहा गर्न आदेश दिएको छ । यससँगै उनी जेल बाहिर नै रहनेछन्। समाचार एजेन्सी एएफपीका अनुसार राजपाक्षे परिवारका थुप्रै सदस्य र उनीहरूका सहयोगीहरूविरुद्ध विगतका वर्षहरूमा भ्रष्टाचारदेखि हत्याजस्ता गम्भीर आरोपमा विभिन्न मुद्दा दर्ता भएका छन्। ती अधिकांश मुद्दा अझै अदालतमा विचाराधीन छन्।

श्रीलंकाका वर्तमान राष्ट्रपति अनुराकुमार दिशानायके भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धतासहित सत्तामा आएका थिए। उनको कार्यकालमा राजपाक्षे परिवारसँग सम्बन्धित पुराना मुद्दाहरूको अनुसन्धानलाई थप तीव्र बनाइएको छ।

प्रकाशित: ४ असार २०८३ ९:०७ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast