काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया किसानहरूको समस्या समाधान गर्न प्रधानमन्त्री बालेन शाहले ध्यान नदिएको बताएका छन्। भारतले चिया निर्यातमा समस्या उत्पन्न गरेकोले इलामका चिया उद्योगी र किसानले उद्योगमा ३ दिनदेखि ताला लगाएको उनको भनाइ छ।
‘यति संवेदनशिल विषयमा सरकारको ध्यान पटक्कै पुगेको छैन। हुनतः प्रधानमन्त्रीज्यू अन्य दुई मन्त्रीज्यूहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जाल हेरेर थाहा पाएको,’ प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सचेतक राईले भने, ‘उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनु हुन्छ तर वार्षिक ३ करोडभन्दा बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरूदण्डकै रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँलाई फुर्सद भएको देखिएन।’
उनले भारतीय चिया बोर्डले चियामा नयाँ मापदण्ड लगाएको पनि बताए। परिक्षण रिपोर्ट आउन दुई साताभन्दा बढी लाग्ने र त्यो बेलासम्म चिया नष्ट गर्नुपर्ने बाध्यता आइपर्ने उनको भनाइ छ। ‘जसका कारण सूर्योदय नगरपालिकाभित्र मात्र ५३ बढी र जिल्लाभर ८३ बढी चिया उद्योग बन्द गरिएको छ,’ उनले भने।
चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको उनले बताए।
चिया टिप्ने र उद्योगमा काम गर्नेहरूको रोजगारी गुमेको उनको भनाइ छ। उद्यमीले बैकबाट लिएको ऋणको ब्याज तिर्ने अवस्था पनि नरहेको उनले बताए।




