विश्वकपमा क्लोजको कीर्तिमान भंग गर्ने दौडमा मेस्सी र एमबाप्पे

हिमाल प्रेस ३ असार २०८३ १३:०५ | Wednesday, June 17, 2026
6
SHARES
विश्वकपमा क्लोजको कीर्तिमान भंग गर्ने दौडमा मेस्सी र एमबाप्पे

काठमाडौँ- फिफा विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता बनेका जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान जारी २०२६ विश्वकपमा भंग हुने निश्चितजस्तै देखिएको छ। आधुनिक फुटबलका दुई ठूला स्टार लियोनल मेस्सी र किलियन एमबाप्पे उक्त उपलब्धिनजिक पुगेका छन्।

अर्जेन्टिनाका कप्तान मेस्सीले बुधबार अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी गरेका छन् भने फ्रान्सका एमबाप्पेले सेनेगलमाथिको जितमा दुई गोल गर्दै कीर्तिमानतर्फ थप नजिकिएका छन्।

सन् २००२ देखि २०१४ सम्मका चार संस्करणमा क्लोजले बनाएको १६ गोलको कीर्तिमान एक दशकभन्दा बढी समयसम्म अटुट रह्यो। तर समूह ‘जे’ अन्तर्गत अल्जेरियामाथि अर्जेन्टिनाले ३-० को जित निकाल्दा मेस्सीले १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै आफ्नो विश्वकप गोल संख्या १६ पुर्‍याएका छन्। ३८ वर्षीय मेस्सी विश्वकपका पाँच भिन्न संस्करणमा गोल गर्ने क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो खेलाडी पनि बने।

मेसीले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी छवटा विश्वकप संस्करणका २७ खेलमा १६ गोल गरेका छन्।

क्लोजले भने चार संस्करणका २४ खेलमा १६ गोल गरेका थिए। उनले २००२ मा पाँच, २००६ मा पाँच, २०१० मा चार र २०१४ मा दुई गोल गरेका थिए। २०१४ मा जर्मनी विश्व च्याम्पियन बनेको थियो।

विश्वकपमा सर्वाधिक गोलकर्ताको इतिहास सन् १९३० को पहिलो विश्वकपबाट सुरु भएको हो। त्यतिबेला अर्जेन्टिनाका गियेर्मो स्ताबिले आठ गोल गर्दै कीर्तिमान बनाएका थिए। त्यो कीर्तिमान १९५० सम्म कायम रह्यो। उक्त संस्करणमा ब्राजिलका आदेमिरले नौ गोल पुर्‍याएका थिए।

सन् १९५४ मा हंगेरीका सान्दोर कोचिसले ११ गोल गर्दै नयाँ कीर्तिमान बनाए भने १९५८ मा फ्रान्सका जस्ट फोन्टेनले त्यसलाई १३ गोलमा पुर्‍याए। फन्टेनको कीर्तिमान झन्डै पाँच दशकसम्म कायम रह्यो। त्यसपछि २००६ मा ब्राजिलका रोनाल्डो नाजारियोले चार विश्वकपमा १५ गोल गर्दै नयाँ इतिहास रचे।

आठ वर्षपछि २०१४ विश्वकपमा क्लोजले आफ्नो १६औँ गोल गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाए।

यद्यपि मेस्सीले क्लोजको कीर्तिमान बराबरी गरिसकेका छन्। त्यसलाई उछिन्ने सबैभन्दा बलियो दाबेदार एमबाप्पेलाई मानिएको छ। फ्रान्सले सेनेगललाई ३-१ ले हराउँदा उनले दुई गोल गर्दै आफ्नो विश्वकप गोल संख्या १४ पुर्‍याएका छन्। २७ वर्षका एमबाप्पेले २०१८, २०२२ र २०२६ गरी तीन संस्करणका १५ खेलमै यो उपलब्धि हासिल गरेका हुन्। ६६औँ मिनेट र इन्जुरी समयमा गरेको गोलले उनलाई मेस्सी र क्लोजको कीर्तिमानभन्दा दुई गोल मात्र टाढा राखेको छ।

अब विश्वकप इतिहासको यो महत्त्वपूर्ण दौड फुटबलका दुई भिन्न पुस्ताका महान् खेलाडीबीच केन्द्रित भएको छ। अनुभवका हिसाबले मेस्सी अगाडि छन् भने उमेरका कारण एमबाप्पेसँग भविष्यका विश्वकपहरूमा थप गोल गर्ने पर्याप्त अवसर हुन सक्छ।

फ्रान्सले समूह चरणमा जुन २२ मा इराक र जुन २६ मा नर्वेसँग खेल्नेछ। अर्जेन्टिनाले भने जुन २२ मा अस्ट्रिया र जुन २७ मा जोर्डनको सामना गर्नेछ।

अर्जेन्टिना र फ्रान्स दुवै नकआउट चरणमा पुग्ने बलिया दाबेदार मानिएकाले मेस्सी र एमबाप्पे दुवैसँग विश्वकपमा सर्वाधिक गोलको नयाँ कीर्तिमान बनाउने थप अवसर रहनेछ। रोचक पक्ष के छ भने विश्वकपका शीर्ष १० सर्वाधिक गोलकर्तामध्ये सक्रिय खेलाडी अहिले यी दुई मात्र हुन्। अब प्रश्न क्लोजको कीर्तिमान भंग हुन्छ कि हुँदैन भन्ने होइन, बरु त्यसलाई सबैभन्दा पहिले कसले उछिन्नेछ भन्ने हो। यसको उत्तर हो- पहिले नै बराबरी गरिसकेका मेस्सी या तीव्र गतिमा पछ्याइरहेका एमबाप्पे।

प्रकाशित: ३ असार २०८३ १३:०५ | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast