काठमाडौँ- चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या ४.९९ प्रतिशतले घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म सात लाख २२ हजार आठ सय ४१ युवाले वैदेशिक रोजगारीका लागि स्वीकृति पाएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा सात लाख ६० हजार तीन सय ९१ जनाले यस्तो स्वीकृति पाएका थिए।
पश्चिम एसियामा मार्च १ देखि बढेको तनावका कारण सरकारले साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल गरी १२ देशका लागि श्रम अनुमति अस्थायी रूपमा स्थगन गरेपछि यो संख्या केही घटेको बताइएको छ। उक्त रोक वैशाख ७ गतेसम्म कायम थियो।
चालु आर्थिक वर्षको ११औँ महिना अर्थात् जेठमा वैदेशिक रोजगारीका लागि स्वीकृति लिने संख्या १७.९८ प्रतिशतले घटेको देखिएको छ। विभागका अनुसार जेठमा कुल ६१ हजार ७२ जनाले वैदेशिक रोजगारीका लागि अनुमति पाएका छन्। यसमध्ये २९ हजार तीन सय ७१ नयाँ अनुमति र ३१ हजार सात सय एक पुनःप्रवेश (रि–इन्ट्री) अनुमति रहेका छन्।
अघिल्लो आर्थिक वर्षको सोही महिनामा ७४ हजार चार सय ६७ युवाले वैदेशिक रोजगारीका लागि अनुमति पाएका थिए।
समीक्षा महिनामा नेपाली श्रमिकका लागि मलेसिया सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ जहाँ १४ हजार एक सय ९२ जनाले अनुमति पाएका छन्। तीमध्ये पाँच सय ३८ महिला छन्। त्यसपछि यूएईमा १२ हजार चार सय ५५ (जसमध्ये एक हजार नौ सय १५ महिला), कतारमा १० हजार दुई सय १०, साउदी अरेबियामा सात हजार पाँच सय १९ र रोमानियामा दुई हजार पाँच सय १० जनाले अनुमति पाएका छन्।
मासिक तथ्यांकअनुसार साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार नौ सय ७२, असोजमा ६४ हजार ६ सय ३४ र कात्तिकमा ७३ हजार ९४ जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका थिए। त्यसैगरी मङ्सिरमा ६५ हजार ७०५, पुसमा ६२ हजार पाँच सय ५९, माघमा ७० हजार पाँच सय तीन, फागुनमा ५२ हजार नौ सय ४४, चैतमा ६१ हजार आठ सय १९ र वैशाखमा ७४ हजार चार सय २९ जना विदेश रोजगारीका लागि प्रस्थान गरेका थिए।
विप्रेषण (रेमिट्यान्स) देशको बाह्य क्षेत्र सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। वैदेशिक रोजगारीका लागि स्वीकृति लिने संख्या घटे पनि चालु आर्थिक वर्षको पहिलो १० महिनामा रेमिट्यान्स ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।




