बालविकास शिक्षकलाई तालिमका लागि चाहिन्छ यस्तो कागजात, भत्ता पनि निर्धारण

हिमाल प्रेस २ असार २०८३ १६:३२ | Tuesday, June 16, 2026
706
SHARES
बालविकास शिक्षकलाई तालिमका लागि चाहिन्छ यस्तो कागजात, भत्ता पनि निर्धारण बालविकास सहजकर्ता। फाइल तस्बिर।

कलैया- शिक्षा तथा संस्कृति मन्त्रालयअन्तर्गत शिक्षा तालिम केन्द्र, बाराले प्रारम्भिक बालविकास तथा शिक्षामा अध्यापन गरिरहेका शिक्षक तथा बालविकास सहयोगी कार्यकर्ताका लागि एकमहिने शिक्षक पेसागत विकास (टीपीडी) प्रमाणीकरण तालिम सञ्चालन गर्ने भएको छ।

केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइ पर्सी, बारालाई पत्राचार गर्दै आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त तालिम सञ्चालन गर्न लागिएको जनाएको हो। तालिम १५ दिन केन्द्रमा आधारित रहनेछ।

पत्रअनुसार तालिममा सहभागी हुन बालविकास केन्द्रका शिक्षक तथा सहयोगी कार्यकर्ताले यसअघि टीपीडी प्रमाणीकरण तालिमको कुनै पनि चरणमा सहभागिता जनाएका हुनुहुँदैन। प्रारम्भिक बालविकास केन्द्र सञ्चालन निर्देशिकाअनुसार प्रभावकारी रूपमा केन्द्र सञ्चालन गरिरहेका तथा नियमानुसार नियुक्त भएका बालविकास शिक्षक वा सहयोगी कार्यकर्ता हुनुपर्नेछ।

शिक्षा तालिम केन्द्र बारामा सञ्चालन हुने तालिमका लागि बारा र पर्सा जिल्लाबाट १५-१५ जना गरी जम्मा ३० जना सहभागी छनोट गरिने भएको छ। सम्बन्धित जिल्लाले योग्य सहभागी छनोट गरी असार ४ गतेभित्र केन्द्रको इमेल ठेगाना मार्फत विवरण पठाउन अनुरोध गरिएको छ।

तालिममा सहभागी हुन विद्यालयको मनोनयन पत्र, नियुक्तिपत्र तथा नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। शिक्षा तालिम केन्द्र बाराका निमित्त तालिम प्रमुख राजन भण्डारीद्वारा हस्ताक्षरित पत्रमा तालिमको मिति, स्थान र अन्य व्यवस्थापन सम्बन्धी विवरण उल्लेख गरिएको छ।

केन्द्रका अनुसार सहभागीलाई १५ दिनको निर्वाह खर्चबापत दैनिक ७०० रुपैयाँ उपलब्ध गराइनेछ। आउजाउका लागि यातायात खर्च तथा नियमानुसार दैनिक र भ्रमण भत्ता समेत प्रदान गरिने व्यवस्था गरिएको छ।

प्रकाशित: २ असार २०८३ १६:३२ | Tuesday, June 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast