काठमाडौँ- नेपाल र भारतबीच सीमापार रेलमार्गसम्बन्धी चलिरहेको परियोजनाको कार्यान्वयनबारे छलफल भएको छ।
परियोजनाको कार्यान्वयन तथा रेल क्षेत्रको समग्र द्विपक्षीय सहयोगको समीक्षा गर्न आयोजित परियोजना सञ्चालन समितिको १० औँ तथा संयुक्तकार्य समूहको आठौँ बैठक शनिबार सम्पन्न भएको हो।
बैठकमा दुवै पक्षले भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको नेपाल–भारतबीचको जयनगनर–जनकपुर–बिजलपुरा–बर्दिवास तथा जोगबनी–विराटनगर ब्रोडगेज रेलमार्ग कार्यान्वयन प्रगतिबारे छलफल भएको छ।
काठमाडौँस्थित भारतीय दूतावासले जनाएअनुसार बैठकमा जनकपुर–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालनसम्बन्धमा समेत छलफल भएको छ।
‘जनकपुर–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालन प्रारम्भ गर्न आवश्यक मानक सञ्चालन कार्यविधि, रक्सौल–काठमाडौँ ब्रोडगेज रेलमार्गको अन्तिमस्थान निर्धारण सर्वेक्षण प्रतिवेदन, पूर्व–पश्चिम रेलमार्गका लागि प्राविधिक सहयोग तथा थप रेलमार्ग सम्पर्कसम्बन्धी विषयमा पनि बैठकमा छलफल भएको छ,’ दूतावासले जनाएको छ।
दुवै पक्ष रेल क्षेत्रको सहयोगलाई थप सुदृढ बनाउन समन्वय र सहकार्यलाई निरन्तरता दिन सहमत भएका दूतावासको भनाइ छ।




