बाँदरले सताएपछि किसानले थाले अकबरे र अदुवाखेती

हिमाल प्रेस ३० जेठ २०८३ १०:५३ | Saturday, June 13, 2026
14
SHARES
बाँदरले सताएपछि किसानले थाले अकबरे र अदुवाखेती

बागलुङ- बागलुङका किसानले बाँदर आतंकका कारण परम्परागत खेती गर्न छाडेका छन्। बसाइँसराइका कारण गाउँघर सुनसान हुँदै गएपछि बाँदर आतंक बढेको हो। खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, फापरलगायत फलफूल नष्ट गरिदिएपछि बाँदरले नष्ट नगर्ने खेती गर्न थालेका हुन्। किसानले खाद्यबालीको विकल्पमा अकबरे खुर्सानीको खेती गर्न थालेका छन्।

जिल्लाको काठेखोला गाउँपालिका–८ का किसान प्रेमप्रसाद कँडेलले मकै पाउन थालेदेखि बाँदरले नष्ट गर्न सुरु गर्ने भन्दै अहिले मकै नलगाएर अकबरे खुसानी लगाउन थालेको बताए। अकबरे बाँदरले नष्ट गर्न नसक्ने उनको भनाइ छ। पहिलो पटक अकबरेखेती गर्न थालेको भन्दै अकबरेको बजार राम्रो भएको उनको भनाइ छ।

कँडेलले भने, ‘हामी त हैरानै भयौँ, बाँदरले बारीको मात्रै होइन घरको बार्दलीमै आएर अन्नबाली नष्ट गरिदिन्छ, अहिले त्यही भएर खाद्यबाली लगाउने ठाउँमा अकबरे लगाएको छु, अब गहुँ मकै लगाएर त भित्र्याउन नदिने भयो, बाँदर मार्न पाँदैन भन्छन्, बाँदरले हामीलाई त दिनु दुःख दिएको छ, केही विकल्प त खोज्नै पर्‍यो।’

बागलुङ नगरपालिका–११ रायडाँडामा पनि बाँदरले सताएपछि किसानले अकबरे र अदुवाखेती गर्न थालेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए। उनका अनुसार गाउँको विभिन्न स्थानमा यस वर्ष यहाँ ४० हजार अकबरेका बिरुवा रोपिएको छ । बाँदरका कारण किसान ठूलो मर्कामा परेको भन्दै यसको नियन्त्रणका लागि योजना बनाइ रहेको उनको भनाइ छ। ‘बाँदरले धेरै दुःख दिएपछि यस वर्ष अकबरेखेती गर्न सुरुआत गरेका छौँ, किसानले बारीमा अकबरे लगाउनुभएको छ, यो परीक्षण पनि हो’, अध्यक्ष गौतमले भने, ‘राम्रो भयो भने आगामी वर्षदेखि वडाभरी अकबरे लगाउँछौँ, यस खेतीले किसानलाई केही राहत दिन्छ कि भन्ने अपेक्षा लिएका छौँ।’

खाद्यबाली बाँदरले नष्ट गरेपछि तरकारीखेतीतर्फ लागेको स्थानीय तमबहादुर थापाले बताए । तरकारी बाँकी नराख्ने हुँदा यसपाली अकबरे लगाएको उहाँको भनाइ छ । सरकारले बाँदर नियन्त्रण गर्न नीति नलिए किसानले राम्रो उत्पादन गर्न नसक्ने थापा बताउँछन्। यस वर्ष रायडाँडामा पहिलो चरणमा यहाँका ७५ जना किसान अकबरे खुर्सानी उत्पादनमा लागेका छन्। चालिस हजारको बीउ ल्याएर ४० हजार बिरुवा उत्पादन गरिएको। यो योजना सफल भएमा बाँदरको आतंक भएका अन्य गाउँमा पनि अकबरेखेती गर्न सकिनेछ।

प्रकाशित: ३० जेठ २०८३ १०:५३ | Saturday, June 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast