बुटवल- बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ /०८४ को नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, सीप र रोजगारलाई केन्द्रमा राख्दै नगर प्रमुख खेलराज पाण्डेयले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रममा बुटवलको दीर्घकालीन सोच ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’ लाई कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ। यसका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र व्यापारको समुन्नतिसँगै सूचना प्रविधिमैत्री, हरियालीयुक्त, सुरक्षित र सुशासित सहर निर्माणलाई प्राथमिकतामा राखिएको छ।
नगरले ‘पढाइसँगै रोजगार’ अभियानलाई थप विस्तार गर्ने, युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने तथा निजी क्षेत्रसँगको सहकार्यलाई विकासको मुख्य आधार बनाउने नीति अघि सारेको छ। बुटवललाई आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न आर्थिक सम्मेलन, पर्यटन सम्मेलन तथा क्षेत्रीय सहकार्यका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
शिक्षा क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिँदै उपमहानगरपालिकाले ‘शिक्षामा सबल, बुटवल अब्बल’ अभियानलाई निरन्तरता दिने भएको छ। नगर प्रमुख शैक्षिक विकास कार्यक्रममार्फत विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार सुधार गरिनेछ।
सबै आधारभूत तथा माध्यमिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रयोगशाला स्थापना गर्ने, माध्यमिक तहमा ई–लर्निङ पोर्टल सञ्चालन गर्ने तथा सम्पूर्ण सामुदायिक विद्यालयलाई क्रमशः पूर्ण प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ।
विद्यार्थीलाई पढाइसँगै सीप र रोजगारसँग जोड्न इन्स्योर परियोजनासहित विभिन्न साझेदार संस्थासँग सहकार्य गरिनेछ। ‘छोरी पढाऔँ, समाज बनाऔँ’ अभियानअन्तर्गत छात्राहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ।
विपन्न, असहाय तथा जोखिममा रहेका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिनेछ। उक्त कोषमार्फत छात्रवृत्ति, पोशाक, शैक्षिक सामग्री तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइने जनाइएको छ। दलित समुदायका विद्यार्थीका लागि छात्रावास निर्माण प्रक्रिया अगाडि बढाइने तथा बेसहारा र अनाथ बालबालिकालाई आवासीय सुविधासहित अध्ययनको व्यवस्था मिलाइने नीति पनि समेटिएको छ।
उपमहानगरपालिकाले छात्रवृत्ति वितरणलाई पूर्ण रूपमा डिजिटल र एकद्वार प्रणालीमा आबद्ध गर्ने भएको छ। संस्थागत विद्यालयले कानुनअनुसार उपलब्ध गराउनुपर्ने १० प्रतिशत छात्रवृत्तिको परीक्षा, व्यवस्थापन, वितरण र अभिलेखीकरण प्रक्रिया डिजिटल माध्यमबाट सञ्चालन गरिने उल्लेख गरेको छ। साथै नगरभित्रका विद्यालयहरूको परीक्षा एकैसाथ सञ्चालन गरी उपमहानगरपालिकाबाट नतिजा प्रकाशन गर्ने व्यवस्था गरिने भएको छ।
प्राविधिक शिक्षाको विस्तारका लागि बुटवलमा बीटीआई ल्याई डिप्लोमा तहका इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने, बुटवल अटो इन्जिनियरिङ कलेजमार्फत अटो इन्जिनियरिङमा स्नातक तह सञ्चालन गर्ने तथा सिद्धार्थ बाल तथा महिला अस्पतालमा सञ्चालित पारामेडिकल शिक्षालाई थप व्यवस्थित बनाउने योजना अघि सारिएको छ।
नीति तथा कार्यक्रममा नैतिक शिक्षाको प्रवर्द्धन, किसानमैत्री कार्यक्रम, सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण, प्लास्टिक विस्थापन अभियान, मौलिक भाषासंस्कृतिको संरक्षण तथा ‘चोक चौतारीमा मेयर’ कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरिएको छ।
स्वास्थ्य सेवाको विस्तारका लागि बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई थप सुदृढ बनाइने भएको छ। अस्पतालमा एचए, नर्सिङ र फार्मेसी शिक्षालाई व्यवस्थित गर्दै थप २०० शय्याको अस्पताल विस्तार, आमा सुरक्षा कार्यक्रम कार्यान्वयन तथा प्यारामेडिकल विषयहरूको विस्तार गरिने नीति लिइएको छ।
‘स्वस्थ शरीर, स्वस्थ मन’ अभियानअन्तर्गत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समूह, टोल विकास संस्था, युवा क्लब तथा बाल क्लबलाई स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा परिचालन गरिनेछ। उत्कृष्ट कार्य गर्ने संस्थालाई सम्मान गर्ने व्यवस्था पनि गरिने भएको छ।
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ /०८४ मा राजस्व वृद्धि, व्यवसायको औपचारिकीकरण तथा शहरी व्यवस्थापनलाई केन्द्रमा राखेर नयाँ नीतिहरू अघि सारेको छ। नगरसभाबाट पारित नीति तथा कार्यक्रममा व्यवसाय दर्तालाई अनिवार्य बनाउनेदेखि रात्रीकालीन बजार सञ्चालन, युवा उद्यमशीलता प्रवर्द्धन र सडक व्यवस्थापनसम्मका महत्त्वाकांक्षी योजना समेटिएका छन्।
उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सबै प्रकारका व्यवसायलाई अनिवार्य रूपमा दर्ता तथा नवीकरणको दायरामा ल्याउन विशेष अभियान सञ्चालन गर्ने भएको छ। यस्तै
लुम्बिनी बस टर्मिनललाई आधुनिक र यात्रुमैत्री बनाउने योजना पनि नगरको प्राथमिकतामा परेको छ। बसपार्कमा शुद्ध खानेपानी, विद्युत सेवा, व्यवस्थित खाजाघर, सफा शौचालय, स्नानघर, निःशुल्क वाइफाइ तथा सुरक्षित विश्रामस्थल निर्माण गरिने जनाइएको छ।
महिला उद्यमशीलता, सुशासन तथा कानुनी सुदृढीकरणलाई जोड दिने नीति अघि सारेको छ। नगरसभाबाट पारित नीति तथा कार्यक्रममा महिला उद्यमीलाई प्रोत्साहन गर्ने, वडागत व्यावसायिक पहिचान विकास गर्ने तथा बेरुजु नियन्त्रणमा कडा कदम चाल्ने घोषणा गरिएको छ।
नगर प्रमुख पाण्डेयले प्रस्तुत गरेको नीतिमा बेरुजु फर्छ्यौटमा ‘निर्मम रूपमा प्रस्तुत हुने’ स्पष्ट संकेत गरिएको छ। यसले आर्थिक अनुशासन, जवाफदेहिता र पारदर्शितालाई संस्थागत गर्ने प्रयासका रूपमा हेरिएको छ।
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ /०८४ का लागि सूचना प्रविधि र कृत्रिम बौद्धिकतालाई विकासको प्रमुख आधार बनाउने नीति अघि सारेको छ। नगरसभाबाट पारित नीति तथा कार्यक्रममा बुटवलको मुख्य नारा नै ‘आईटी क्षेत्रको विकासबाट निकास’ तय गरिएको छ।
पर्यटन प्रवर्द्धन र नगरका गतिविधि प्रचारप्रसारका लागि सञ्चार संस्थासँग सहकार्य गरिने भएको छ। बुटवलका पर्यटकीय स्थल, विकास आयोजना तथा नगरका उपलब्धिहरू जनस्तरसम्म पुर्याउन पुस्तक, वृत्तचित्र, नाटक, गीतसंगीत तथा चलचित्र निर्माणलाई प्रोत्साहन गरिने नीति लिइएको छ।
नगरले यस वर्ष राष्ट्रियस्तरको कबड्डी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। त्यस्तै लुम्बिनी प्रदेशस्तरीय कराँते प्रतियोगिता सञ्चालन गरिनेछ भने खो–खो खेललाई पनि पुनर्जीवित गर्ने योजना सार्वजनिक गरिएको छ।




