मनिष मिश्रद्वारा ‘शहीद सन्तति वृत्ति कोष’मा ५० हजार सहयोग घोषणा

हिमाल प्रेस २८ जेठ २०८३ १२:४३ | Thursday, June 11, 2026
12
SHARES
मनिष मिश्रद्वारा ‘शहीद सन्तति वृत्ति कोष’मा ५० हजार सहयोग घोषणा

काठमाडौँ- नेपाली कांग्रेसका नेता मनिषकुमार मिश्रले सहिद परिवारका सन्ततिका लागि स्थापना गर्न लागिएको ‘लोकतान्त्रिक शहीद सन्तति वृत्ति कोष’मा थप सहयोग गर्ने घोषणा गरेका छन्। आफ्नो जन्मदिनको अवसर पारेर उनले कोषमा थप ५० हजार रुपैयाँ जम्मा गर्ने जानकारी दिएका हुन्।

मिश्रले यसअघि विसं २०८२ जेठ २८ गते आफ्नो जन्मदिनका दिन उक्त कोष स्थापना गर्ने घोषणा गर्दै प्रारम्भिक रूपमा ५१ हजार रुपैयाँ राख्ने बताएका थिए। सोही प्रतिबद्धतालाई निरन्तरता दिँदै यस वर्ष थप रकम जोडिएपछि कोषको कुल रकम १ लाख १ हजार रुपैयाँ पुगेको उनले जनाएका छन्।

उनका अनुसार शहीदको सम्मान तथा उनीहरूको परिवारलाई सहयोग गर्ने उद्देश्यले कोष स्थापना गर्ने अवधारणा अघि बढाइएको हो। विगतमा राजनीतिक परिस्थिति अनुकूल नहुँदा योजना कार्यान्वयनमा ढिलाइ भए पनि अब यसलाई मूर्त रूप दिने तयारी भइरहेको उनले उल्लेख गरेका छन्। मधेश क्षेत्रका विभिन्न स्थानमा भ्रमणका क्रममा शहीद परिवारको अवस्था नजिकबाट देखेपछि उनीहरूको सहयोगका लागि केही गर्नुपर्ने महसुस भएको मिश्रले बताएका छन्। सोही अनुभूतिका आधारमा कोष स्थापना गर्ने निर्णय गरिएको उनले स्पष्ट पारे।

मिश्रले छिट्टै कानूनी प्रक्रिया पूरा गरी कोष सञ्चालनका लागि सञ्चालक समिति गठन गर्ने योजना रहेको पनि बताएका छन्। उक्त समिति शहीदप्रति सम्मानभाव राख्ने व्यक्तिहरूबाट गठन गरिने र कोष व्यक्तिगत नभई सामूहिक रूपमा सञ्चालन गरिने उनको भनाइ छ।

यस कोषमा इच्छुक सबै व्यक्तिले योगदान गर्न सक्ने व्यवस्था गरिने र यसको कार्यक्षेत्र मेचीदेखि महाकालीसम्म विस्तार गर्ने लक्ष्य राखिएको उनले जानकारी दिएका छन्। अन्त्यमा उनले आफ्नो यस पहललाई सामाजिक कार्यको सानो प्रयासका रूपमा उल्लेख गर्दै विभिन्न क्षेत्रका व्यक्तित्वबाट सुझाव, सल्लाह तथा सहयोगको अपेक्षा गरेको बताएका छन्।

प्रकाशित: २८ जेठ २०८३ १२:४३ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast