भारतीय पर्यटक तान्न ‘कलकत्ता मिसन’

हिमाल प्रेस २७ जेठ २०८३ २१:२२ | Wednesday, June 10, 2026
22
SHARES
भारतीय पर्यटक तान्न  ‘कलकत्ता मिसन’

पोखरा– पर्यटकीय राजधानी पोखरालाई भारतीय पर्यटकको रोजाइको केन्द्र बनाउने उद्देश्यका साथ नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले छिमेकी राष्ट्र भारतको कलकत्तामा पाँच दिने विशेष प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्ने भएको छ।

यही जेठ २८ देखि असार १ गतेसम्म सञ्चालन हुने ‘पोखरा नेपाल प्रमोसनल क्याम्पेन तथा बीटुबी सेल्स मिसन’ मार्फत भारतीय पर्यटन बजारमा पोखराको सशक्त उपस्थिति जनाउने तयारी व्यवसायीहरूले गरेका हुन्।

नाट्टा गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्दै यसपटकको कलकत्ता भ्रमणलाई केवल प्रवर्द्धनमा मात्र सीमित नराखी हवाई सञ्जाल विस्तारको एजेन्डालाई प्राथमिकतामा राखेको महासचिव चेतबहादुर कार्कीका जानकारी दिए।

उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका मुख्य सहरहरूमा सिधा हवाई उडान सञ्चालनका लागि त्यहाँका सम्बन्धित निकायहरूसँग छलफल गरिनेछ।

कलकत्तामा आयोजना हुने बीटुबी सेसनमा पोखरा र समग्र नेपालको पर्यटन समेटिएको वृत्तचित्र प्रदर्शन गरिनेछ। त्यहाँका पर्यटन व्यवसायी, पत्रकार र सामाजिक सञ्जालका सेलिब्रेटीहरूलाई सहभागी गराएर पोखरालाई ‘ट्रेन्डिङ’ गन्तव्यको रूपमा चिनाइने अध्यक्ष किशोर दाहालले बताए।

अभियानका क्रममा इन्डियन एसोसिएसन अफ टुर अपरेटर, ट्राभल एजेन्ट्स एसोसिएसन अफ वेंगाल र एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर्सलगायतका आधा दर्जनभन्दा बढी भारतीय पर्यटन संस्थाहरूसँग सहकार्य र व्यावसायिक सम्झौता गर्ने कार्यक्रम रहेको संस्थाका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक संगीता पौडेल जानकारी दिइन्।

बाइस सदस्यीय व्यवसायीको टोलीले कलकत्ताका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकनसमेत गर्नेछ। नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पछिल्लो तथ्यांकअनुसार नेपाल भित्रिने कूल पर्यटकमध्ये २९ प्रतिशत भारतीय नागरिक रहने गरेका छन्। यो अभियानले पोखरालाई कलकत्ता, दिल्ली र वनारसजस्ता सहरहरूसँग हवाई मार्गले जोड्न दबाब पुग्ने उनलेविश्वास व्यक्त गरे।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन उद्योग चलायमान भएको जनाउँदै यस्ता सेल्स मिसनले नेपालको आतिथ्य सत्कारलाई विश्व बजारमा नयाँ उचाइ दिने दाबी गरे।

नाट्टाका पूर्वअध्यक्ष वासु त्रिपाठीले संस्थाले यसअघि पटना, वाराणसी, अयोध्या र सिलगुडीजस्ता सहरहरूमा यस्तै अभियान सफल पारिसकेको बताए। यसखाले कार्यक्रमको सकारात्मक प्रभाव पोखराको पर्यटनमा देखिन थालेको उनले बताए। व्यवसायीको निरन्तर पहलले पर्यटनको राजधानी अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सफल भएको बताए।

गण्डकी प्रदेशका ११ जिल्लाका टुर एण्ड ट्राभल व्यवसायीहरूलाई समेटेको नाट्टाले विगतदेखि नै अन्तर्राष्ट्रियस्तरका यस्ता गतिविधिमार्फत बाह्य पर्यटक आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको जनाएको छ।

प्रकाशित: २७ जेठ २०८३ २१:२२ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast