काठमाडौँ- श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क राई साम्पाङले सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
साम्पाङले प्रधानमन्त्रीले जथाभावी बोलेको कुरा सच्चाउनुपर्ने आफूहरूको माग रहेको उल्लेख गरे। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिका कारण अन्तर्राष्ट्रिय स्तरमै नेपालको प्रतिष्ठा गिरेको उनको भनाइ छ।
सरकार संविधानअनुसार हिँड्न नसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा बोलाउन सभामुखलाई ध्यानाकर्षण गराए। सीमाबारे प्रधानमन्त्रीले बोलेको कुरा त्रुटिपूर्ण रहेको उनले बताए।
नेता साम्पाङले नेपाली सेनालाई सीमातिर पठाउनुपर्ने जिकिर गरे। सेनालाई सधैँ ब्यारेकभित्रै राखेर नहुने बताउँदै उनले कहिलेकाहिँ सीमामा पठाउनुपर्ने उल्लेख गरे। अघिल्ला सरकारहरूले सेनालाई सीमामा पठाउन नसके पनि अहिलेको सरकारले यो काम गर्नुपर्ने उनको भनाइ छ।
संसदमै नियमावली मिचिएको भन्दै देशमा कसरी कानुनको शासन लागू गर्ने उनले प्रश्न गरे।




