काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले सोमबार लगातार तेस्रो कारोबार दिन पनि गिरावटको क्रम जारी राख्दै २०.२७ अंक (०.७३ प्रतिशत) ले घटेर २,७३५.१४ बिन्दुमा कारोबार बन्द गरेको छ। यसअघि नेप्से परिसूचक शुक्रबार ११.३७ अंक र बिहीबार १३.४६ अंकले घटेको थियो।
कारोबारको सुरुवाती चरणमा परिसूचक हरियो क्षेत्रमा प्रवेश गरे पनि दिनभर दबाबमा रह्यो। कारोबार अन्त्यतिर केही सुधार देखिए पनि परिसूचक नकारात्मक क्षेत्रमा नै कायम रह्यो। कारोबार रकम पनि घटेर ४ अर्ब ८ करोड रुपैयाँमा सीमित रह्यो। यस अवधिमा ५६ हजार ८४५ वटा कारोबारमार्फत ९२ लाख ३० हजार कित्ता सेयर किनबेच भएका थिए।
कालिञ्चोक हाइड्रोपावर लिमिटेडले लगातार उकालो यात्रालाई कायम राख्दै सबैभन्दा धेरै १४.९९ प्रतिशतले मूल्य वृद्धि गरेको छ। यता उन्नति लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ६.०१ प्रतिशतको घाटा बेहोरे।
त्यसैगरी, केन्द्रीय वित्त कम्पनी लिमिटेड सबैभन्दा बढी कारोबार हुने कम्पनी बन्यो। यस कम्पनीको २० करोड ४६ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यसपछि ८.५प्रतिशत लक्ष्मी बैंक ऋणपत्रको १७ करोड १७ लाख २० हजार रुपैयाँ र अन्खुखोला जलविद्युत कम्पनी लिको १३ करोड ८० लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
समूहगत परिसूचकतर्फ वित्त (फाइनान्स) समूह मात्रै ०.२६ प्रतिशतले बढेर हरियो क्षेत्रमा रह्यो। बाँकी सबै उपसमूहहरू भने रातो क्षेत्रमा बन्द भए। सबैभन्दा बढी गिरावट व्यापार (ट्रेडिङ) उपसमूहमा देखियो जुन १.७७ प्रतिशतले घट्यो। त्यसपछि अन्य (अदर्स) उपसमूह १.५० प्रतिशत र विकास बैंक उपसमूह १.०३ प्रतिशतले घटेर बन्द भए।




