सामूहिकरुपमा पुस्तक लोकार्पण
काठमाडौ, २२ जेठः राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल ‘खतिवडा’द्वारा लिखित नारी रेखा पुस्तकको शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच लोकार्पण गर्दै नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वमन्त्री प्रदीप पौडेल, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त, लेखा समिति सभापति भरतबहादुर खड्का, कानुन तथा संसदीय मामिला सभापति समीक्षा बास्कोटा, राजनीति विश्लेशक डा सुरेन्द्र केसीलगायत । तस्बिरः विमलबहादुर विष्ट/रासस
काठमाडौँ- राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, साहस र सफलताका विविध आयाम समेटिएको आफ्नो नयाँ कृति ‘नारी रेखा’ सार्वजनिक गरेकी छन् ।
राजधानीमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेल लगायतका विशिष्ट अतिथिहरूले उक्त पुस्तकको लोकार्पण गरेका हुन् । लोकार्पणका क्रममा लेखिका खतिवडाले सुनाएका केही प्रतिनिधि घटना र समाजको तीतो यथार्थले कार्यक्रम हलमा उपस्थित सबैलाई स्तब्ध र भावुक बनाएको थियो।
आयोगको जिम्मेवारी सम्हाल्ने क्रममा मुलुकका विभिन्न भूगोल र समुदाय पुग्दा देखेका हृदयविदारक भोगाइलाई पुस्तकमा उतारेको जानकारी दिँदै उनले आमाको पेटमा छोरा वा छोरी के छ भनी हँसियाले चिरेर हेर्दा आमा र बच्चा दुवैको ज्यान गएको घटनादेखि १८ महिनाकी नानी आफ्नै दाजुहरूबाट बलात्कृत भएर मृत्यु भएको सम्मका तथ्यहरू पुस्तकमा समेटिएको बताइन् ।
खतिवडाले मुस्ताङमा आज पनि कायम बहुपति प्रथा र छाउगोठभित्रका त्रासदीलाई उजागर गर्दै भनिन्, ‘यो कुनै कल्पना होइन, हजारौँ महिलाका आँसु र सङ्घर्षको प्रतिविम्ब हो।’ उनले संविधान र कानुनले समानताको ग्यारेन्टी गरे पनि व्यवहारमा महिलाहरू अझै पनि विभेदको गहिरो खाल्डोमा रहेको उल्लेख गर्दै ‘नारी रेखा’ मार्फत समाजलाई ऐना देखाउने प्रयास गरेको बताइन्।
कार्यक्रमका प्रमुख अतिथि एवं कांग्रेस महामन्त्री प्रदीप पौडेलले लोकतन्त्र प्राप्तिका विभिन्न आन्दोलनदेखि राष्ट्र निर्माणका हरेक क्षेत्रमा नेपाली महिलाको योगदान अतुलनीय रहेको बताए । उनले नेपाली महिलाले लामो समयसम्म सामाजिक, आर्थिक तथा राजनीतिक विभेद सहँदै पनि अधिकारका लागि निरन्तर सङ्घर्ष गरेको स्मरण गर्दै महिलाको योगदानबिनाको लोकतान्त्रिक आन्दोलन र विकासको परिकल्पना गर्न नसकिने स्पष्ट पारे । पौडेलले ‘नारी रेखा’ पुस्तकले समाजका विभिन्न तह र वर्गका महिलाले भोगेका यथार्थ घटनालाई प्रभावकारी ढंगले उजागर गरेको टिप्पणी गरे ।
पुस्तकमाथि टिप्पणी गर्दै राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले ‘नारी रेखा’ केवल साहित्यिक कृतिमात्र नभई नेपाली समाज अध्ययनको एउटा महत्त्वपूर्ण दस्तावेजका रूपमा रहेको बताए । राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले महिलालाई अझै पनि कतिपय क्षेत्रमा कमजोर रूपमा हेर्ने प्रवृत्ति कायम रहेको भन्दै महिलाले राष्ट्र निर्माणमा अग्रणी भूमिका निर्वाह गरिरहेको उल्लेख गरिन् ।
लेखा समिति सभापति भरतबहादुर खड्का र कानुन समिति सभापति समीक्षा बाँस्कोटाले महिला सशक्तीकरण, समान सहभागिता र अधिकार सुनिश्चितताका लागि यस्ता कृतिले मार्गदर्शकको भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
पशुपतिमा भारतीय नाङ्गे बाबालाई ढोगे मनोकामना पूरा हुन्छ भन्ने अन्धविश्वासदेखि ३ वर्षे बालिकालाई मन्दिरमा छाड्नुपर्ने पीडादायी अवस्थाले आफ्नो मन छियाछिया भएको सुनाउँदै लेखिका खतिवडाले यो पुस्तक सोच परिवर्तनका लागि एउटा अभियान भएको बताइन् ।




