फाइल तस्बिर
काठमाडौँ- सर्वोच्च अदालतले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई मान्यता दिएको छ।
दल विभाजनसम्बन्धी विवादमा सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको पूर्ण इजलासले यो फैसला गरेको हो।
जसपा नेपाल छाडेका अशोक राईको नेतृत्वमा निर्वाचन आयोगले नयाँ दल दर्ता गरिदिएपछि यादवपक्ष सर्वोच्च पुगेका थिए। आयोगको निर्णयलाई चुनौती दिँदै अध्यक्ष यादवले २०८१ जेठ २९ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
रिट दर्ता भएको झन्डै दुई वर्षपछि सर्वोच्चले फैसला सुनाएको हो।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जसपा नेपालका अध्यक्ष यादव मन्त्री रहेका बेला राईसहितका नेताहरूले दल फुटाएका थिए। त्योबेला जसपा नेपालका १२ मध्ये प्रतिनिधिसभाका सात सदस्य राईको पक्षमा उभिएका थिए।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा राईलगायतका प्रतिनिधिसभा सदस्यले विश्वासको पक्षमा मतदान गरेका थिए। राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी (जसपा) मा आवद्ध भएका कतिपय नेता पछिल्लो समय उपेन्द्रसँगै फर्किएका छन् भने प्रदीप यादव, इस्तियाक राईलगायतका नेताहरू नेकपा एमाले प्रवेश गरेका छन्।




