काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन्।
बिहीबार काठमाडौँमा पत्रकार सम्मलेनमार्फत राणाले पार्टी राप्रपा परित्याग गरेको औपचारिक घोषणा गर्दै नयाँ राजनीतिक दल गठन गर्ने जानकारी दिएका हुन्।
उनले समयको पदचाप र जनभावना अनुरूप, विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणको अभियान शुभारम्भका लागि राजनीतिक दल नै गठन गरेर अघि बढ्ने बताए। संस्थापनबाट नेता, कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्ने गरी लखेटिरहने, कारबाही गरिरहने, अन्यायविरुद्ध बचाउमा लागिरहनु पर्ने मात्रै काम पछिल्लो चार बर्षमा भएको उनले बताए। उनले नीजि स्वार्थमा संस्थापनबाट नै स्वःपक्षीय गुट बनाइएको र वैचारिक आदर्शसँग धोका र खेलवाड प्रतिविम्व भएको आरोप लगाए।
राणाले देशविदेशमा रहेका नेपालीहरूले विश्वसनीय राष्ट्रवादी शक्तिको रिक्तता पूर्ति गर्न सल्लाह दिएकाले जनस्तरबाट प्राप्त सद्भाव र विश्वासलाई आत्मसात गर्दै समयको माग र राष्ट्रको आवश्यकताअनुरूप एक कर्मनिष्ठ राष्ट्रवादी राजनीतिक दलको नवनिर्माणको प्रक्रियाको थालनी भएको उल्लेख गरे।
संवैधानिक राजसंस्थात्मक जनप्रतिनिधिमूलक आधुनिक प्रजातान्त्रिक राज्यप्रणाली तथा हिन्दु, बौद्ध, किरातसहितको सनातनी पहिचान अव बन्ने पार्टीको आधारशीला रहने उनले जानकारी दिए।
उनले युवा र महिलालाई केन्द्रीय कार्यसमिति लगायत समितिहरूमा ६० प्रतिशत भूमिका सुनिश्चित गर्दै अग्रजहरूलाई सल्लाहकार एवं प्रवुद्ध वर्गको सम्मानमा राख्ने बताए।
युवा र महिलाहरू जिल्लास्तरबाट समेत केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने संरचना रहने उनको भनाइ छ। नयाँ पार्टीमा दुर्गा प्रसाईको अभियानलगायतका अन्य शक्तिहरु पनि एकताबद्ध हुने उनको भनाइ छ।




