यस्तो छ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति कार्यविधि

हिमाल प्रेस २१ जेठ २०८३ ११:०३ | Thursday, June 4, 2026
1.3k
SHARES
यस्तो छ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति कार्यविधि

काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति’ को बैठकले नयाँ कार्यविधि पारित गरेको छ। यो कार्यविधि प्रतिनिधिसभा नियमावली २०८३ को नियम १७८ को उपनियम ७ बमोजिम बनाएको हो।

नयाँ कार्यविधिमा समितिका बैठकहरूलाई मर्यादित र अनुशासित बनाउन विशेष व्यवस्थाहरू समेटिएका छन्। बैठक अवधिभर मोबाइल फोन स्विच अफ वा साइलेन्स गर्नुपर्ने छ। बैठक चलिरहेको समयमा आवश्यक परेमा भने सभापतिको अनुमति लिएर मात्र सभाकक्ष बाहिर गई कुराकानी गर्न पाइने छ।

बैठकमा छलफलमा भाग लिँदा सदस्यहरूले सभापतिको ध्यानाकर्षण गराउनका लागि हात उठाउनुपर्ने छ। सभापतिले सङ्केत गरेपछि मात्र सदस्यले बोल्नुपर्ने छ। कुनै एक सदस्य बोलिरहेको समयमा बीचैमा अर्को सदस्यले बोल्न वा आपसमा कुरा गर्न निषेध गरिएको छ।

बैठकमा बोल्दा अनिवार्य रूपमा सभापतिलाई सम्बोधन गरेर मात्र बोल्नुपर्ने छ। व्यक्तिगत आक्षेप, अपमानजनक र अशिष्ट शब्द प्रयोगमा रोक गरिएको छ। सदस्यले बोल्न पाउने अधिकारलाई बैठकको कार्यमा बाधा पार्ने मनसायले दुरुपयोग गर्न नपाइने छ।

समितिको बैठकको कार्यसूची सभापतिको सल्लाह र निर्देशनमा सचिवले तयार गर्नेछ। कार्यसूची सामान्यतया बैठक प्रारम्भ हुनुभन्दा कम्तीमा एक दिन अगावै सदस्यहरूलाई जानकारी गराइनेछ। तर, विषयवस्तुको गम्भीरताका आधारमा तत्कालै बैठक बस्नुपर्ने अवस्था आएमा सभापतिको निर्देशन बमोजिम तत्कालै विद्युतीय माध्यम वा अन्य तरिकाले सदस्यहरूलाई जानकारी गराउन सकिनेछ।

बैठक निर्धारित समयमै सुरु हुनेछ। तर, बैठक प्रारम्भ हुने निर्धारित समयभन्दा सामान्यतया १५ मिनेटसम्म पनि गणपूरक सङ्ख्या नपुगेमा कारण खोली सभापतिले उक्त दिनको बैठक स्थगित गर्न सक्नेछन् र अर्को बैठकको मिति र समय तय गर्नेछन्।

समितिले उपयुक्त ठानेमा विषयको गम्भीरतालाई हेरी ‘गोप्य बैठक’ बस्न सक्नेछ। यस्तो गोप्य बैठकमा सभामुख, उपसभामुख, महासचिव, प्रतिनिधि सभाका सचिव, समितिका सचिव, सचिवालयका कर्मचारी र सुरक्षाका लागि खटिएका मर्यादापालक तथा आमन्त्रित व्यक्तिबाहेक अन्य कसैलाई पनि प्रवेश अनुमति दिइने छैन।

समितिको बैठकमा उपस्थित सदस्यको बहुमतको निर्णय समितिको निर्णय मानिनेछ र मत बराबर भएमा सभापतिले निर्णायक मत दिनेछन्।

समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सम्पादन गर्नुपर्ने कार्यका लागि आवश्यकता अनुसार ‘उपसमिति’ वा ‘कार्यदल’ गठन गर्न सकिनेछ। उपसमिति वा कार्यदलको संयोजक समितिले नतोकेको खण्डमा सदस्यहरूले आफूहरूमध्येबाट एकजनालाई चयन गर्नेछन्।

उपसमितिले तोकिएको समयावधिभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ र विशेष कारणवश समयमा काम नसकिएमा समितिले समय थप गर्न सक्नेछ।

समितिले आवश्यक ठानेमा सम्बन्धित विषयका विज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न वा राय-सुझाव लिन विज्ञ समूह निर्माण गर्न सक्नेछ। समितिको बैठकमा सामान्यतया प्रेस तथा नागरिकलाई प्रवेश दिइनेछ तर प्रवेश दिने सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार सभापतिलाई हुनेछ।

समितिको काम कारबाही, निर्णय तथा अन्य कागजातसम्बन्धी आधिकारिक जानकारी सभापतिको अनुमति लिई सचिवले सार्वजनिक गर्नेछन्।

यो कार्यविधि संवत् २०८३ साल जेठ २० गतेको मितिबाट स्वीकृत भई लागू भएको रूपमा प्रस्तुत गरिएको छ। समितिको बुधबारको बैठकले यसलाई पारित गरेसँगै अब समितिका आगामी बैठकहरू यही कार्यविधि बमोजिम सञ्चालन हुनेछन्।

प्रकाशित: २१ जेठ २०८३ ११:०३ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast