काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भइ फेला परेका ४० वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
बुधबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २५ वटा मोटरसाइकल र १५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।
ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट आएका सुचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो।
सो क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी लक गर्न सुुझाव दिए। त्यस्तै पछिल्ला दिनमा सवारी नियम उलंघनका घटना बढेको भन्दै मर्यादित र नियमको पालना गर्दै सवारी चलाउन आग्रह गरे।
गत साउनयता करिव पाँच सयवटा सवारी साधन धनीलाई जिम्मा लगाइसकेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।




