प्रावि शिक्षक विज्ञापनमा चासो,आयोग र केन्द्र के गर्दैछन्?

हिमाल प्रेस २० जेठ २०८३ १४:४३ | Wednesday, June 3, 2026
218
SHARES
प्रावि शिक्षक विज्ञापनमा चासो,आयोग र केन्द्र के गर्दैछन्?

काठमाडौँ- शिक्षक सेवा आयोगमा पदाधिकारी रिक्त रहँदा शिक्षक पदपूर्ति, विज्ञापन र बढुवा प्रक्रिया प्रभावित भएको छ। आयोगका प्रशासकीय प्रमुख हरिप्रसाद निरौलाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट शिक्षक पदपूर्तिको विवरण प्राप्त भएपछि आवश्यक प्रक्रिया अघि बढाउन कुनै कठिनाइ नहुने बताए।

तर,आयोगमा पदाधिकारी नहुँदा कामकाज प्रभावित भएको छ। सरकारले राजनीतिक नियुक्तिबाट भएका विभिन्न निकायका पदाधिकारीको पद रिक्त गरेसँगै शिक्षक सेवा आयोग पनि नेतृत्वविहीन बनेको छ। यस कारण प्राथमिक तहको विज्ञापन र बढुवासम्बन्धी अन्तर्वार्ता समेत रोकिएको सरोकारवालाहरूको भनाइ छ।

प्राथमिक तहको विज्ञापनबारे चासो बढिरहेका बेला सरकारले प्राथमिक तहका करिब ६ हजार दरबन्दीलाई स्तरोन्नति गरी निम्न माध्यमिक तहमा लैजाने तयारी गरेको छ। वर्तमान संरचनाअनुसार कक्षा १ देखि ८ सम्मलाई आधारभूत र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह मानिन्छ। मानव स्रोत विकास केन्द्रले गरेको अध्ययनअनुसार पहिलो चरणमा ५ हजार ९६५ प्राथमिक तहका दरबन्दी निम्न माध्यमिक तहमा रूपान्तरण गर्न शिक्षा मन्त्रालयमा सिफारिस गरिएको छ।

पछिल्लो समय सामुदायिक विद्यालयमा प्राथमिक तहमा विद्यार्थी संख्या घट्दै गएको र माथिल्लो तहमा बढ्दै गएको छ। सोही कारण शिक्षक विद्यार्थी अनुपात सन्तुलन गर्न दरबन्दी पुनर्संरचना आवश्यक भएको हो।

सरकारको तथ्यांकअनुसार प्राथमिक तहमा १ लाख ४५ हजार ७५३ शिक्षक दरबन्दी रहेका छन् भने ३५ लाख ५४ हजार ९०४ विद्यार्थी अध्ययनरत छन्। कक्षा ६-८ मा भने ५९ हजार ५५२ शिक्षक मात्र रहेका छन् जहाँ १८ लाख १९ हजार ३६८ विद्यार्थी अध्ययनरत छन्।

शैक्षिक अभियन्ता तथा शिक्षक नेता रमेशबाबु भट्टराईले आयोग नेतृत्वविहीन हुँदा शिक्षक पदपूर्ति, परीक्षा र बढुवा प्रक्रिया ठप्प भएको भन्दै ध्यानाकर्षण गराएका छन्। उनले लामो समयदेखि तयारी गरेर बसेका लाखौँ विद्यार्थी अन्योलमा परेको बताए।

भट्टराईले भने,‘जागिर र व्यवसायसमेत छोडेर तयारी गरेका विद्यार्थीको मनोभावनामा ठेस पुग्नु सुशासन होइन। यथाशीघ्र आयोगका अध्यक्ष र सदस्य नियुक्त गरी कामकाज अघि बढाउनुपर्छ।’

उनका अनुसार समयमै परीक्षा सञ्चालन नहुँदा युवामा निराशा बढ्दै गएको र वैदेशिक पलायनलाई समेत प्रोत्साहन गर्ने अवस्था सिर्जना भएको छ। उनले सरकारलाई शैक्षिक प्रणालीलाई समयमै सञ्चालन गर्ने वातावरण बनाउन र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न आग्रह गरेका छन्।

त्यस्तै उनले आयोगमा रिक्त पद तत्काल पूर्ति गरी रोकिएका सबै प्रक्रियाहरू सुचारु गर्नुपर्ने बताएका छन्। यसैबीच,उनले शिक्षामन्त्री सस्मित पोखरेललाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत सभ्य भाषामा सन्देश पठाएर आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाउन अनुरोध गर्न पनि आह्वान गरेका छन्।

उक्त सन्देशमा आयोगको काम ठप्प हुँदा तयारी गरिरहेका विद्यार्थी अन्योलमा परेको र तत्काल कदम चालेर उनीहरूको मनोबल बढाउनुपर्ने उल्लेख छ।

प्रकाशित: २० जेठ २०८३ १४:४३ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast