अन्नपूर्ण हिमालमा पहिलो मानव पाइला परेको ७६ वर्ष पूरा

हिमाल प्रेस २० जेठ २०८३ ६:५९ | Wednesday, June 3, 2026
4
SHARES
अन्नपूर्ण हिमालमा पहिलो मानव पाइला परेको ७६ वर्ष पूरा

काठमाडौँ- अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो । यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङको भूगोलमा पर्छ ।

८ हजार मिटरभन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । ३ जुन १९५० मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुकतर्फको आधार शिविरतर्फ दौड प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्द्धनका लागि लमजुङको दोर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस आयोजना गरिएको छ ।

पर्यटन विभागका अनुसार अघिल्लो वर्षसम्म ५३६ जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्षको वसन्तयाममा चारवटा समूहका २७ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिले सफल आरोहण गरे भन्ने विवरण अद्यावधिक भइरहेको विभागका शाखा अधिकृत शर्मीला बञ्जाडेले बताइन् ।

आज आधार शिविरदेखि नारच्याङसम्म ३६ किलोमिटर दूरीमा दौड, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह गरेर दिवसको समापन गरिने अन्नपूर्ण गाउँपालिका– ४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए ।

२० जना सहभागी खुला दौड प्रतियोगितामा विजेतालाई १ लाख, उपविजेतालाई ६० हजार, तेस्रोलाई ३५ हजार र सान्त्वना स्थान हासिल गर्ने ३–३ जनालाई १०–१० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स संघको प्राविधिक सहयोगमा दौड प्रतियोगिता आयोजना गरिएको हो । दौड प्रतियोगितापश्चात् नारच्याङमा सोमबारदेखि सुरु भएको दिवसको समापन, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।

प्रकाशित: २० जेठ २०८३ ६:५९ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast