सर्लाही- सर्लाहीको कविलासी नगरपालिका वडा नं.७ कार्यालयले सामुदायिक विद्यालयका शिक्षकहरूको क्षमता परीक्षणका लागि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षकहरूले विरोध जनाएका छन्। उक्त निर्णयप्रति सामाजिक सञ्जालमा शिक्षकहरूले आपत्ति जनाएका हुन्।
वडा कार्यालयले मंगलबार जारी गरेको पत्रअनुसार श्री मा.वि गैर बजारमा कार्यरत शिक्षकहरूको शैक्षिक क्षमता तथा अध्यापन दक्षतामाथि अभिभावकहरूले प्रश्न उठाएको भन्दै आगामी असार १५ गते परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ।
निमित्त वडा अध्यक्ष विष्णु नारायण झाले हस्ताक्षर गरेको पत्रमा विद्यालयमा शिक्षकहरूको ‘कमजोरी व्यापक रहेको तथा पढाउन सक्ने क्षमता समेत नरहेको’ भन्ने अभिभावकहरूको निवेदनका आधारमा परीक्षा लिन लागिएको उल्लेख छ।
परीक्षा दिन इच्छुक शिक्षकहरूलाई जेठ १८ गतेभित्र वडा कार्यालयमा उपस्थित भई नाम दर्ता गराउन भनिएको थियो।
वडा कार्यालयले परीक्षामा सहभागी हुँदा शैक्षिक योग्यता प्रमाणपत्र, नागरिकताको सक्कल प्रतिलिपि तथा अनुभव प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने जनाएको छ।
यद्यपि स्थानीय तहको वडा कार्यालयले विद्यालयका शिक्षकहरूको क्षमता परीक्षण गर्न कानुनी अधिकार राख्छ वा राख्दैन भन्ने विषयमा प्रश्न उठ्न थालेको छ।
शिक्षक नियुक्ति, मूल्यांकन तथा व्यवस्थापनका विषय मुख्यतः विद्यालय व्यवस्थापन समिति, स्थानीय तहको शिक्षा शाखा तथा सम्बन्धित शिक्षा कानुनले निर्धारण गर्ने व्यवस्था छ।
यस विषयमा शिक्षा क्षेत्रका सरोकारवालाहरूले थप स्पष्टता आवश्यक रहेको बताएका छन्।





