काठमाडौँ- सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा सामुदायिक विद्यालयका बालविकास सहजकर्ता (ईसीडी शिक्षक)हरूको तलब नबढाएपछि उनीहरू आक्रोशित बनेका छन्। नेपाल बालविकास शिक्षक संघर्ष समितिले विज्ञप्ति जारी गर्दै बजेटले आफ्ना समस्याहरू समाधान गर्न नसकेको बताए।
समिति अध्यक्ष कृष्णकुमारी थापा मगर र महासचिव निर्मला गिरीले जनताले चुनेको नयाँ सरकारले आफ्ना मागहरू सम्बोधन गर्ने आशा गरे पनि बजेटमा कुनै व्यवस्था नगरेको जनाए। ‘हामी बालविकास शिक्षकहरू वर्षौंदेखि कम तलबमा काम गर्दै आएका छौं। राज्यको नीतिहीनताका कारण हामी पीडित छौं।’
विद्यालयमा काम गर्ने बालविकास शिक्षकहरूले लामो समयदेखि कम तलबमा काम गर्दै आएका छन्। सरकारले तोकेको न्यूनतम तलबसमेत नपाउने अवस्था रहेको र बालविकास कक्षासँगै माथिल्ला कक्षामा समेत पढाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ।
संघर्ष समितिले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटप्रति असहमति व्यक्त गर्दै आफ्ना मागहरू पूरा गराउन आन्दोलन जारी रहने चेतावनी दिएको छ।
संघर्ष समितिले न्यायोचित मागहरू पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ। बालविकास शिक्षकहरूले विगतदेखि नै स्थायी दरबन्दीको व्यवस्था, सम्मानजनक तलब तथा सेवासुविधा वृद्धि लगायतका मागहरू उठाउँदै आएका छन्।
यो पनि




