पार्टी विभाजनको संकेत देखेपछि राप्रपाका ३ पूर्वअध्यक्षको अपिल : आत्मघाती कदम नचाल्नू

हिमाल प्रेस १७ जेठ २०८३ ६:२३ | Sunday, May 31, 2026
14
SHARES
पार्टी विभाजनको संकेत देखेपछि राप्रपाका ३ पूर्वअध्यक्षको अपिल : आत्मघाती कदम नचाल्नू

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन पूर्वअध्यक्षले संयुक्त अपिल जारी गरी अहिलेको घडीमा पार्टी नछाड्ने नेता तथा कार्यकर्तालाई अनुरोध गरेका छन्।

राप्रपाका पूर्वअध्यक्षहरू कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले शनिबार जारी गरेको संयुक्त वक्तव्यमा पार्टी छोड्नेबारे नसोच्न आग्रह गरिएको छ। ‘अहिलेको घडीमा पार्टी छाड्ने वा पलायन हुनेबारे नसोच्न र त्यस्तो आत्मघाती कदम नचाल्न हामी पार्टीका सम्पूर्ण साथीहरूलाई विशेष अनुरोध गर्दछौँ,’ तीनै जनाले भनेका छन्।

राप्रपा महामन्त्री डा। धवल शमशेर राणालगायतले पार्टी छोड्न लागेको समाचार बाहिरिएपछि पूर्वअध्यक्षहरूले सेचत गराएका हुन्। उनीहरूले अहिलेको अवस्थामा राप्रपा एकजुट हुन आवश्यक रहेको औँल्याएका छन्।

‘पार्टी जीवनमा हारजित तथा आरोह–अवरोह हुनु स्वाभाविक हो। जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि आफ्नो सिद्धान्तप्रति निष्ठावान् रहँदै अघि बढ्नु प्रत्येक स्वाभिमानी कार्यकर्ताको धर्म हो,’ उनीहरूले भनेका छन्।

गत फागुन २१ को प्रतिनिधि सभामा भएको हारजितलाई लिएर निरास नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। ‘गत निर्वाचनमा हामीले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेनौँ। तर, पार्टी एकतालाई सुदृढ गर्दै सशक्त कार्ययोजनाका साथ अघि बढ्न सक्यौँ भने छोटो अवधिमै अप्रत्याशित सफलता हासिल गर्न सक्छौँ,’ संयुक्त वक्तव्यमा भनिएको छ।

यससँगै हिन्दूराष्ट्रका लागि पनि राप्रपा आवश्यक भएको उनीहरूको भनाइ छ। तीनै जनाले भनेका छन्, ‘हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापना गर्न सक्छौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको भविष्य उज्ज्वल छ। तसर्थ, वर्तमान अवस्थाबाट कत्ति पनि विचलित नभई पार्टी संगठन निर्माणमा जुट्न हामी सम्पूर्ण साथीहरूमा हार्दिक आह्वान गर्दछौँ।’

पार्टीभित्रका आन्तरिक कमिकमजोरी आउँदो महाधिवेशनबाट हल गरिने बताएका छन्। ‘आगामी जेठ अन्तिम साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशनको मिति निश्चित गर्ने केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरिसकेको छ। तोकिएको समयमै महाधिवेशन हुने कुरामा कुनै शङ्का नगरौँ,’ उनीहरूले भनेका छन्, ‘पार्टीभित्रका समस्या, विकृति र चुनौतीहरूको निराकरण महाधिवेशनले गर्ने नै छ।’

उनीहरूले राप्रपा स्थापना गर्दाको स्मरण पनि गराएका छन्। कठिन अवस्थामा राप्रपा स्थापना गरिएको जनाउँदै अब यसलाई अगाडि बढाउन नयाँ पुस्ताले जुटेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

‘बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापश्चात् देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति स्थापना गर्ने उद्देश्यका साथ २०४७ साल जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको उदय भएको हो,’ तीनै जनाले भनेका छन्, ‘मुलुकले भोग्नु परेको वर्तमान संकटबाट मुक्तिका निम्ति राप्रपालाई अझ सशक्त ढङ्गले संगठित गर्न हामी सदैव प्रतिबद्ध छौँ।’

प्रकाशित: १७ जेठ २०८३ ६:२३ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast